ओखलढुङ्गा : सिद्धेश्वर महादेवस्थान महोत्सव तयारी सुरु
ओखलढुङ्गान्युज, भदौ १८ । लिखु गाउँपालिका वडा नं. ६ खाल्टे माटेबेशीमा रहेको सिद्धेश्वर महादेवस्थानमा तेश्रो वर्षका लागि महोत्सव सञ्चालन गर्ने तयारी सुरु भएको छ । “लिखु खोला सिसन्धु माटेबेशी घुम्न जाउँ–सिद्धेश्वर महादेवको दर्शन गरौं, हाम्रो धार्मिक परम्परालाई कायम राखौं” भन्ने मूल नाराका साथ महोत्सवको तयारी स्वरुप आज काठमाण्डौंमा सरोकारवालाहरुका बीचमा पहिलो चरणको छलफल भएको हो ।
महोत्सवको तयारीका लागि श्री जनजागरण युवा क्लव लिखु ६ खाल्टेका अध्यक्ष रोशन पुलामी मगरको अध्यक्ष तथा निवर्तमान अध्यक्ष सुनिल स्वराली मगरको उपस्थितमा बैठक सम्पन्न भएको हो । महोत्सवका तयारी स्वरुप आज लिखु गाउँपालिका वडा नं. ६ स्थायी घर भै विभिन्न पेशा व्यबसाय गर्दै काठमाण्डौंमा बसोबास गरिरहेका सरोकारवालाहरुसँग छलफल गरिएको वडा वडा अध्यक्ष टिका क्याप्छाकी मगरले जानकारी दिए ।
वडा अध्यक्ष क्याप्छाकी मगरका अनुसार आगामी मंशिर २४ गते पर्ने बाला चतुर्दशीको अबसर पारेर उक्त मन्दिर भएको स्थानमा २१ देखी २४ गतेसम्म महोत्सव सञ्चालन गरिनेछ । प्रथम पटक २०७८ सालमा तत्कालीन नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यतामा उक्त स्थानमा महोत्सव सम्पन्न भएको थियो । तेश्रो वर्षका लागि प्रमुख अतिथी को लैजाने भन्ने बारेमा पनि चाडै छलफल सुरु गर्ने वडा अध्यक्ष क्याप्छाकी मगरको भनाई छ ।
निरन्तर महोत्सवको सुरुवात गरिएको तेश्रो वर्ष समेत भएकोले महोत्सवलाई सभ्य र भव्य रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर सरोकारवालाहरुसँग पहिलो चरणको छलफल गरिएको वडा अध्यक्ष क्याप्छाकी मगरको भनाई छ । महोत्सव सञ्चालन गर्ने कुरालाई बारेमा वडाका नागरिकहरुले उत्साहपूर्ण रुपमा लिएको वडा अध्यक्ष क्याप्छाकी मगरले बताए । पहिलो बैठकमा गाम्नाङ्गटार सेवा समाजका सदस्यहरुको समेत उपस्थितीमा गम्भिर रुपमा छलफल भएको थियो ।
मंशीर महिनाको २१ देखी २४ गते सम्म सञ्चालन गरिने महोत्सवलाई सभ्य र भब्य रुपमा सञ्चालन गर्न निरन्तर छलफलमा लाग्नुका साथै आर्थिक संकलनको लागि समेत छलफल थालनी भएको वडा अध्यक्ष क्याप्छाकी मगरले बताए । २०७८ देखी सुरुवात गरिएको लिखु गाउँपालिका वडा नं ६ को खाल्टे माटेवेसीको महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गराउनका लागि आ–आफ्नो तह र तप्कावाट सहयोग गरिदिन समेत वडा अध्यक्ष क्याप्छाकी मगरले सबैमा अनुरोध गरेका छन् ।