यती बियरले छक्कालाइ १ लाख, चौकालाइ २५ हजार दिने
ओखलढुङ्गान्युज, भदौ १८ । यती ब्रेवेरीको उत्पादन अर्ना बियरले नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्कामा १ लाख र चौकामा २५ हजार दिने घोषणा गरेको छ । पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ अन्तर्गत आज (सोमबार) भारत विरुद्धको खेलमा नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का र चौका बापत टिमलाई नगद रुपैयाँ दिने घोषणा गरेको हो ।
अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत एक स्टाटस पोष्ट गर्दै शोमबार हुने भारतविरुद्धको खेलमा नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको हो । यस्तै खेलाडीले प्रहार गर्ने प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने अर्ना बियरले जनाएको छ ।
एसिया कपको समूह ‘ए’ मा रहि पहिलो खेलमा विश्व नं १ मा रहेको पाकिस्तानसँग फराकिलो हार बेहोरेको नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल आज शोमबार भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।