स्मृतिमा वशीभुत तन्द्रा
प्रकासित मिति : २०८०, १५ भाद्र शुक्रबार ०९:३०
प्रकासित समय : ०९:३०
ओखलढुङ्गान्युज, भदौ १५ ।

शनै:शनै ऋतु कालसँगै
अब त मकैका पातहरु पनि
पहेँलिदै सुक्दै जान थाले होलान् ।
बिस्तारै बिस्तारै भुइँ बादलहरु उठेर
उचाई लिँदै माथी माथी उड्न थाले होलान ।
बर्षभरी कुइरोको घुम्टो ओढेर लजाइ रहने
मेरो गाउँ पनि
अब त वारि-पारी छर्लङ्ग देख्ने भयो होला।
धत्,
आजभोलि भन्दा भन्दै
दिनहरु गन्दा गन्दै
मौसमसँगै ज्यास्ती गाउँको याद आउन थालेछ !
खहरे खोल्सीहरु
अनि साउने सिमको मुलहरु
बिस्तारै बिस्तारै बग्न ,अल्छी मान्न थाले होलान् ।
बाटोघाटो खेत खलियान अनि घर आँगन
सुख्खा हुँदै गयो होला,
आँखै खोल्न नदिने बर्षे झरी पनि
अब त सुस्त सुस्त रोकिँदै मत्थर हुँदैगए होलान् ।
शरद ऋतुको स्वागतमा तम्तयार मौसम पनि
पारिलो घामसँगै
दशै आएको सुचना संकेत दिँदै
मन्द मन्द मुस्कुराउन थालिसके होलान् ।।
भो, यसपालि त कसैगरी घर जान्छु म पनि !!!
घर गाउँमा यसपालि त आउछु भन्नेहरुको
खबर पनि पक्कै अब त घरघरमा पुगिसके होलान् ।
हर घरमा नवरात्री र फुलपातिको तयारीमा
गच्छे अनुसारको भाले, हाँस, बोका राँगा
अनि खर्चको चाँजो टुङ्गो लाइसके होलान् ।
वास्ना छर्दै कानमा सिउरिन उद्यत
गोदावरीको बोटहरुमा पनि
स-साना टोटला लाग्न थाली सक्यो होला,
ओहो!
सिरानी उल्टो पारुँ कि कोल्टे फेरुँ,
मरे निद परे पो !
रोटि हाल्न सुकेको खरो दाउराको
जोहो गर्दै होलिन आमा,
सरङ भरी काउलो पनि त सुकाए होलान आँगनिमा ।।
सम्झँदै गयो
दाहाल गाउको हरिहर ठुला बा’ले गुनगुनाउने गरेको
मालश्रीको मधुर मंगल धुन
कानै वरिपरि गुञ्जिन थाल्छ।
यसपाली त आउलान् नि त हाम्रो केटो पनि,
भन्दै मेरा पनि घरमा
पक्कै बाटो हेर्न थाले होलान् ।।
नगएको पनि त धे'””‘रै भयो !!!
आSsss! यसपालि त जानैपर्छ कसैगरी,
क्षणभङ्गुर हुन्छ तन्द्राको
स्मृति र स्मृतिमा वशीभुत तन्द्रा भङ्ग,
सङका साथीभाई नभेटेको पनि धे”रै भयो,
आफ्नै घरको जस्केलो नटेकेको पनि धेरै भयो ।।
कहिले कसो त लाग्छ
सायद अब त भुले पनि होलान पर्देशिलाई !?
कहिले कसो त लाग्छ
सधैको यस्तै त हो नि नाथु पर्देशिलाई!।
फेरि क्षणमै स्मृतिमा आउँछ
उहि बरबोटे भञ्ज्याङ्को छ पिर्के रोटे पिङ,
झलझली आउछ चचहुई चिच्याउदै खेल्ने गरेको
स्कुल डाँडाको ढुङ्ग्रे बाँसको चार सुरे लिङ्गे पिङ।।
ओहो! अलि बढी नै पो याद आयो क्यारे……!!!
आSsss! यसपालि त जानैपर्छ कसैगरी……!!!
रामजी तामाङ – बिर्ख…
