नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

वाग्ले सम्बन्धिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशलाई उच्चको निरन्तरता

ओखलढुङ्गान्युज, जेठ २२ । उच्च अदालत विराटनगरले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएको छ । न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते गरेको अन्तरिम आदेशलाई उच्च अदालतले आज निरन्तरता दिएको हो ।

उच्च अदालतले अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएसँगै खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेको पद जोगिएको हो । जेठ ५ गते भएको अन्तरिम आदेशलाई सोमबार पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले निरन्तरता दिएको हो । कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भोलिपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

सदस्य सचिव वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको ब्यानरमा ‘कोशी प्रदेश किन नलेखेको’ लाई देखाएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्य सचिव वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो । दुवै स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले वाग्लेलाई पदमुक्त गरेको थियो ।

वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते बैंक खातासमेत रोक्का गरेको थियो । सदस्य सचिव वाग्लेलाई बर्खास्त गर्दै खाता रोक्का गरेपछि गत जेठ १ गतेदेखी ओखलढुङ्गामा हुने भनिएको कोशी प्रदेश स्तरिय फुटबल प्रतियोगिता समेत अनिश्चित समयसम्मका लागिभन्दै रोकिएको छ ।