नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

सिटिइभिटीका कर्मचारी चढेको जीप सुनकोशी नदीमा खस्दा तीनजना बेपत्ता

ओखलढुङ्गान्युज, जेठ १९ । शुक्रबार दिउँसो काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) का कर्मचारी सवार जिप सुनकोशी नदीमा खसेको छ । सीटीईभीटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप सुनकोशीमा नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता रहेका छन् ।

मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं.-७ लौकुन भन्ने स्थानमाबाट सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशी नदीमा खसेको हो । सुमो नदीमा खसेपनि सुमो चालक भने नदीबाट निस्किन सफल भएको र उनी सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जीपमा चार जना सवार रहेको, एक जना सुनकोशी नदीबाट जीवितै निस्कएको र तीन जनाको अवस्था अज्ञात रहेको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

 

महुरेगढी प्राविधिक शिक्षालय खोटाङका प्राचार्य पुष्पराज प्याकुरेलका अनुसार सीटीईभीटीबाट चालक सहित चार जना शुक्रबार आउने र दिउँसो ३ बजे प्राविधिक शिक्षालयमा अन्तरक्रिया कार्यक्रम तय गरिएको थियो । कार्यक्रमका लागि पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल दिक्तेल पुगिसकेका छन् । बेपत्ता संख्या र गाडी नम्बरका आधारमा सीटीईभीटीको गाडी दुर्घटनामा परेको यकीन भएको प्राचार्य प्याकुरेलले बताए ।

सुमो नदीमा खसेर बेपत्ता हुनेमा सीटीईभीटीका प्रशासन निर्देशक कृष्ण केसी, योजना, नीति तथा तर्जुमा निर्देशक एम भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल रहेको महुरेगढी प्राविधिक शिक्षालयका प्राचार्य प्याकुरेलले बताए । उनीहरू शैक्षिक गतिविधिबारे अन्तरक्रियाका लागि महुरेगढी प्राविधिक शिक्षालय, नुनथला गइरहेका थिए ।

प्राध्यापक प्याकुरेलले बेपत्ताहरुको बारेमा जानकारी गराए पनि बेपत्ता हुनेहरुको बारेमा स्वतन्त्र पहिचान र पुष्टि भैसकेको छैन । तथापि उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।