नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

एनएससी–काभा महिला भलिबलको उपाधी भारतलाई

ओखलढुङ्गान्युज, जेठ १४ आईतवार काठमाण्डौंमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार दिउसो भएको फाइनल खेलमा कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो ।

फाईनल खेलमा भारतले कजाकस्तानमाथि २५–१५, २५–२२ र २५–१८ बाट सहज जित हासिल गर्यो । घरेलु टोली नेपालले घरेलु मैदानको फाईदा लिन सकेन । आफ्नै घरेलु मैदानमा नेपालले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेश्रो स्थानका लागि आजै भएको खेलमा उज्वेकिस्तानमाथि ३–१ को सेटमा जित निकाल्दै नेपाल तेस्रो बनेको हो ।

पहिलो सेट २५–२० ले गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै खेलमा पकड जमाएको हो। नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा घरेलु टोली नेपालसँगै भारत, बंगलादेश, कीर्गिस्तान, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र कजाकस्तानसहित ८ राष्ट्रले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपाल तेस्रो हुँदा लिव्रो सलिना श्रेष्ठ प्रतियोगितामै उत्कृष्ट बनेकी छन् । सहभागी ८ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै सलिना आफ्नो पोजिसनमा सर्वोत्कृष्ट बनेकी हुन् । डेढ वर्षअघि नेपालले दोस्रोपल्ट काभा सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दा पनि सलिना आफ्नो पोजिसनमा उत्कृष्ट बनेकी थिइन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ भारतीय खेलाडीहरुले बर्चश्व जमाउदै तीन विधामा उत्कृष्ट खेलाडीको पुरस्कार पाएको छ । सेकेन्ड बेस्ट आउटसाइड हिटरका रुपमा भारतकी अनुश्री पोइली, उत्कृष्ट मिडिल ब्लकर सूर्या थोतांगाल र उत्कृष्ट सेटरमा कोभट साजी जिनी बनेकी छन् ।

त्यस्तै उत्कृष्ट आउटसाइड हिटर काजकस्तानकी बोला उताएभा र अपोजिट प्लेयरमा सिखा जिनोभा उत्कृष्ट बनिन् । उज्वेकिस्तानकी कुडी साखोन सेकेन्ड बेस्ट मिडिल ब्लकर बनिन् ।