नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

मोलुङको विद्यार्थी प्रतिभा पहिचानमा नृत्यमा मनकुमारी, कवितामा विरेन्द्र उत्कृष्ट

कक्षा ५ स्तरीय उपलब्धी परीक्षामा कुन्तादर्शन आवि उत्कृष्ट

ओखलढुङ्गान्युज, जेठ १२ मोलुङ गाउँपालिकाले पालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा पालिका भित्र रहेका माद्यमिक विद्यालयहरुलाई पछाडी पार्दै आधारभूत विद्यालयका छात्र–छात्रा उत्कृष्ट बनेका छन् । त्यस्तै पालिका स्तरको कक्षा ५ स्तरीय उपलब्धी परीक्षामा पनि आधारभूत तहको विद्यालय नै उत्कृष्ट बनेको छ ।

विहिबार मोलुङ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत एकल नृत्य तर्फ बरुणेश्वर माविकी छात्रा मन कुमारी विक प्रथम, चम्पादेवी ईङ्लिस बोर्डिङ स्कूल श्रीचौरकी छात्रा रञ्जिता तामाङ द्वितिय, शिवदुती माविकी छात्रा अप्सरा दाहाल तृतिय र कालिका मावि श्रीचौरकी छात्रा निम्छिकी शेर्पाले सान्त्वना स्थान प्राप्त गरिन् ।

कविता वाचन तर्फ जलजलेश्वर गुरुकुल वेद विद्याश्रम माविका विरेन्द्र पोख्रेल प्रथम, सरस्वती मावि कुन्तादेवीका दर्पणा ढकाल द्वितिय, जीवन प्रदिप मावि हर्कपुरका प्रशंसा दाहाल तृतिय र बरुणेश्वर मावि रामपुरका मुकुन्द दाहालले सान्त्वना स्थान प्राप्त गरे ।

त्यस्तै गत माघ १६ गते सहिद दिवसको अबसर पारेर पालिका आयोजना गरेको कक्षा ९–१२ स्तरीय लोकतन्त्र स्थापनामा सहिदहरुको भूमिका विषयक निवन्ध लेखन प्रतियोगिताको पनि विहिबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । निबन्ध लेखन तर्फ सम्पूर्ण भुजेल प्रथम, अभिनभ दाहाल द्वितिय, विनु अधिकारी तृतिय र रस्मोद कार्कीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

गाउँपालिका भित्र रहेका आधारभूत स्तरीय कक्षा ५ स्तरीय उपलब्धी परीक्षामा कुन्तादर्शन आधारभूत विद्यालय कुन्तादेवी ढकालगाँउ प्रथम, कालिका मावि श्रीचौर द्वितिय र चम्पादेवी ईङ्लिस बोर्डिङ स्कूल श्रीचौर तृतिय बन्न सफल भएको छ ।

प्रतियोगिताका विजेता विद्यार्थी तथा पालिका स्तरीय उपलब्धी परीक्षामा उत्कृष्ट बन्न सफल बनेका विद्यालयहरुलाई मोलुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला खतिवडाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको मोलुङ गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक माधव कार्र्कीले जानकारी दिए ।

पुरस्कार वितरण गर्नेक्रममा सम्बोधन गर्दै उपाध्यक्ष खतिवडाले विद्यार्थीको क्षमता पहिचान कार्यक्रमले क्षमता भएका विद्यार्थीलाई थप प्रोत्साहनका साथ क्षमता विकासमा समेत टेवा पुग्ने भएकोले गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको बताईन् । विद्यालयमा विद्यार्थीसँग नाच्ने र कविता बाचन बाहेकका अन्य पनि थुप्रै प्रतिभाहरु लुकेर रहेको हुनसक्ने भन्दै विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त कृयाकलापको आयोजना गरि लुकेको प्रतिभा बाहिर ल्याउन सहयोग गर्नुपर्ने बताईन् । 

विद्यार्थी प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रममा मोलुङ गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, पालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरु, मोलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा कर्मचारी एवम् स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।