नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

काभा वुमन्स् भलिबल : नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा

ओखलढुङ्गान्युज, जेठ १० ।‌ काठमाडौँमा जारि काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आफ्नो खेलमा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा सम्पन्न भएको खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५-१०, २५-८ र २५-९ ले हराएको हो ।

नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा दुई खेल जितेर नेपाल सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सोमबार नेपालले कीर्गिस्तानलाई पनि ३-० कै सोझो सेटमा पराजित गरेको थियो ।

जारी प्रतियोगितामा नेपालसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सोमबार बंगलादेशलाई र मंगलबार कीर्गिस्तानलाई हराएको थियो । अब नेपाल र भारतबीचको खेलले समूह विजेता चयन हुनेछ ।

जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको बंगलादेशसँगको खेलमा नेपालका ४ जना खेलाडीले डेब्यु गरेका छन् । मिडलब्लकरमा कविता भट्टले सुरुवाती रोजाइमा रहँदै डेब्यु गरिन् । प्रतिस्थापन हुँदै सेटरमा प्रगति नाथ, अपोजिट स्पाइकमा पुजा थारु र लिब्रोमा शान्तिकला तामाङले पनि राष्ट्रिय टिममा मंगलबार डेब्यु गरेका हुन् ।

मंगलबार चारजनाले डेब्यु गरेसँगै नेपालका ६ जनै नयाँ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । २ जनाले भने शोमबार किर्गिस्तान सँग भएको पहिलो खेलमा नै डेब्यु गरेका थिए ।