नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

लिखुका नागरिकको प्रश्न ः हाम्रो पालिकामा बहुबर्षिय योजना खै ?

ओखलढुङ्गान्युज, जेठ लिखु गाउँपालिकाका नागरिकहरुले आफ्नो गाउँपालिकामा किन बहुवर्षिय योजनाहरु नभएको भन्दै पालिकाका अध्यक्षलाई प्रश्न गरेका छन् । आज लिखु गाउँपालिकाको मुकाम यसममा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो प्रश्न गरेका हुन् ।

नागरिकहरुले गाउँपालिका जहिले पनि टुक्रे योजनामा मात्र सञ्चालन भएकोले उपलब्धी नदेखिएको भन्दै बहुबर्षिय योजनामा जनप्रतिनिधी तथा पालिकाका कर्मचारीहरुले नै बेवास्ता गरेको गुनासो गरेका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्ना जिज्ञासा तथा सुझाव दिदै सहभागीहरुले गाउँपालिकाका जनप्रतिनिधीहरु गाउँपालिकामा बहुवर्षिय योजना भित्र्याउन पहल गर्न आग्रह गरे ।

सहभागीहरुले सरोकारवालाहरुलाई गाउँपालिकाले योजना अनुगमनमा गम्भिरता नजनाएको, शिक्षक छनौट, भर्ना, नियुक्ति गर्दा आवश्यक पर्ने विज्ञ छनौटमा मनपरि गरेको आरोप लगाएका थिए । गाउँपालिका आफैले शिक्षा ऐन जारि गरेर पनि त्यसको कार्यान्वयन नगरेको नागरिकहरुको गुनासो थियो । त्यसको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले आगामी दिनमा बस्ने गाउँकार्यपालिकाको बैठकले शिक्षा ऐनको बारेमा आवश्यक अध्ययन र परिमार्जन गर्नुपर्ने कुराको पहिचान गरि आवश्यक परेमा ऐन सम्शोधन समेत गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै नागरिकहरुले चालु आर्थिक वर्षको निती तथा कार्यक्रममा सुत्केरी तथा गर्भवतीलाई लक्षित गरेर निशुल्क एम्बुलेन्स सुबिधा प्रदान गर्ने घोषणा गरेको भएपनि लागू नभएको गुनासो गरेका थिए । गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले उत्तर दिदै एक आर्थिक वर्षमा लिखु गाउँपालिकाका ४ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरेको र गाउँपालिकावाट प्रदान गर्ने एम्बुलेन्स सुबिधा पनि प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सेवाग्राही नागरिकहरुले गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा निम्तो पुगोस् आई नपुगोस् भने जसरी खबर भएको भन्दै आगामी दिनमा पालिकाले पहिला वडा स्तरीय रुपमा नै सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । संघियता लागू भएपश्चात गाउँपालिकामा पहिलो पटक सार्वजनिक सुनुवाईको आयोजना गरिएकोले आगामी दिनमा वडा स्तरमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षमा बजेटको विनियोजन गर्ने गाउँपालिका अध्यक्ष अशोक कार्कीले प्रतिबद्धता जनाए ।