नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

एनएससी–काभा वुमन्स भलिबल ः  नेपालको विजयी सुरुवात

आज दोश्रो खेल बंगलादेशसँग खेल्दै

ओखलढुङ्गान्युज, जेठ एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ शोमबारबाट सुरु भएको छ । आफ्नो घरेलु मैदानमा भएको खेलको फाईदा बटुल्दै आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले आज आफ्नो दोश्रो खेल बंगलादेशसँग खेल्दैछ । समूह ए मा रहेर आज लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

शोमबार नै भएको खेलमा बंगलादेश भने आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो । तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशविरुद्ध सहज जित निकाल्दै भारतसँग अन्तिम खेलअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाउन सक्छ ।

आजै यस समूहमा भारत र कीर्गिस्तानबीच पनि खेल हुनेछ । भारत र कीर्गिस्तानबीचको खेल बिहान १० बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुवै खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

यस्तै समूह बी अन्तर्गत  श्रीलंका र काजकस्तानबीचको खेल साढे १२ बजे तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साँझ साढे ६ बजे सुरु हुनेछ । काजकिस्तानले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो । यदि काजकिस्तान र उज्वेकिस्तान आज पनि विजयी भए समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुग्नेछन् ।