नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सुनकोशी गाउँपालिकाका अध्यक्ष तामाङको एक वर्षको सेवा सुबिधा विद्यालयलाई

ओखलढुङ्गान्युज, जेठ जिल्लाको सुनकोशी गाँउपालिकाका अध्यक्ष कमल तामाङले आफ्नो एक वर्षको सेवा वापतको रकम विद्यालयलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । गाउँपालिका अध्यक्ष तामाङले शनिवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरेका हुन् ।

अध्यक्ष तामाङले मासिक रुपमा आफुले ४४ हजार बराबरको सेवा सुबिधा पाउदै आएका थिए । जसवाट १० हजार बराबरको गाडी भाडामा खर्च भएको र बाँकी रहेको प्रति महिनाको ३४ हजारका दरले हुने १२ महिनाको ४ लाख ८ हजारलाई चारओटा विद्यालयलाई प्रति विद्यालय बराबर १ लाख २ हजारको दरले हस्तान्तरण गर्ने बताए । यो वर्ष अध्यक्षको सेवा सुविधावाट फर्निचर निर्माणका लागि बजेट पाउनेहरुमा कालिका आवि मूलकखर्क, कालिका मावि कोषभञ्ज्याङ्ग, कुशादेवी मावि कटुञ्जे र जगत जननी मावि मानेडाँडा रहेका छन् ।

शनिवार गाउँपालिकामा आयोजना गरिएको बार्षिक कार्यप्रगती विवरण सार्वजनिक तथा पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष तामाङले आफु गाउँपालिकामा निर्वाचित भएर आएपछि आफूले शिक्षा र सडकमा आमूल परिवर्तन गर्न सफल भएको बताएका थिए । शिक्षा क्षेत्रमा सुधारका लागि कम विद्यार्थी संख्या भएका विद्यालयहरुलाई नजिकैको विद्यालयमा मर्ज गरेर शिक्षकको व्यबस्थापन गरेको बताएका थिए ।

अध्यक्ष तामाङले आफ्नो कार्यकालको पहिलो वर्षमा पालिकाको फजुल खर्चमा कटौती गरेको दावी गरेका थिए । पहिलो वर्षमा नै परिक्षण स्वरुप गाउँपालिकाकाको व्यबस्थापन तर्फको खर्च कटौती गरेकोमा आफु सफल भएको बताएका थिए । त्यस्तै फजुल खर्च कमगर्ने योजना अनुसार वडा अध्यक्ष तथा कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनहरुको खर्च तथा प्रयोगलाई समेत कटौती गरेको बताएका थिए ।

कार्यक्रममा पालिकाका १० वटै वडाका वडा अध्यक्षहरुले आफ्नो वडाको बार्षिक कार्य प्रगती प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।