नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

लिखुको नमुना मावि ग्रायुसि माविमा नेताहरुकै संलग्नतामा लाखौको अनियमितता

ओखलढुङ्गान्युज, जेठ जिल्लाको लिखु गाउँपालिकाको नमूना मावि ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङ्गटारमा लाखौको अनियमितता भएको आशंकामा अनुसन्धान सुरुवात भएको छ । नमूना माविका लागि विभिन्न सामाग्रीहरु खरिद गर्न भनि प्रदेश सरकारवाट प्राप्त भएको ५० लाख बजेटमा अनियमितता भएको आशंक गरिएको हो ।

श्री ग्रामोदय युगकवि सिद्धिचरण मावि, गाम्नाङ्गटार, लिखु गाउँपालिका ६

सामाग्री खरिदमा अनियमितताको कुरा बाहिर आएपछि विद्यालय व्यबस्थापन समितिले विद्यालयका प्रधानाध्यापक नेत्र कुमारी पौडेललाई पदवाट बर्खास्ती गरेको छ । गत बैशाख २४ गते विद्यालय व्यबस्थापन समितिले आफुलाई बर्खास्तीको पत्र दिएको प्रधानाध्यापक पौडेलले बताईन् । आफूलाई लिखु गाउँपालिकाले निर्णय गरेर नै ५ वर्षका लागि विद्यालयको प्रधानाध्यापक पदको जिम्मेवारी दिएकोले आफुलाई दिएको बर्खास्तीको पत्र अस्विकार गरेको पौडेलले बताईन् ।

प्रदेश सरकारवाट अनुदान आएको रकमवाट खरिद गरिएको सामाग्रीमा अनियमितता भएको र त्यसको जानकारी विद्यालय व्यबस्थापन समितिलाई जानकारी नदिई फरफारक गराएको विद्यालय व्यबस्थापन समितिको आरोप छ । आफुले नियम संगत रुपमा नै खरिद समिति बनाएर सामाग्री खरिद गरेर स्टोरमा दर्ता गराएको, अनुमगन पनि गराएकोले आफ्नो कुनै कमजोरी नभएको प्रधानाध्यापक पौडेलको भनाई छ । सम्बन्धित निकायवाट छानविन गरेर अनयिमितता गरेको र त्यसमा आफ्नो पनि सहभागीता रहेको पुष्टि नभएसम्म प्रधानाध्यापक नछाड्ने पौडेलको भनाई छ । 

विद्यालयमा भएको भनिएको सामाग्री खरिद सम्बन्धिको अनियमिततामा गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी समेत जोडिएपछि त्यसलाई ढाकछोप गर्न गाउँपालिका लागि परेको छ । गाउँको कुरा गाउँमा नै मिलाउन भन्दै धेरैवटा बैठकहरु भएको उक्त विद्यालयका एक शिक्षकले बताए । उनले भने खरिद समितिमा पार्टीका जिल्ला स्तरका नेताहरु नै संलग्न भएकोले सायद ढाकछोपमा नै मिलाउन खोजिएको हो । त्यसमा गाउँपालिकाका शिक्षा शाखाका कर्मचारीको समेत संलग्नता रहेको आरोप लागेको छ ।

अनियमितता भएको बारेमा चर्को आवाज उठ्न थालेपछि विद्यालय व्यबस्थापन समितिले पटकपटक समय दिदै हिसाव मिलान गर्न र अनियमितताको रकम फिर्ता गर्न सम्बन्धितहरुलाई भनेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अम्बर श्रेष्ठले बताए । उनले भने, ‘नमिलेको हिसाब मिलान गर्न विद्यालयलाई समय दिएका छौं । प्रधानाध्यापक नेत्र कुमारी पौडेलले अटेर गरेपछि बैशाख २४ गते उनलाई बर्खास्ती गरेर अर्का शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएका छौं ।’ अध्यक्ष श्रेष्ठले भने, ‘संघिय शिक्षा ऐन अनुसार नै पौडेललाई हटाएर अर्का शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएका हो । विद्यालयमा खरिद गरिएका सामाग्रीको बारेमा अनुसन्धान भैरहेको छ ।’

अनियमीतताको बारेमा बाहिर हल्ला आएपछि विद्यालय व्यबस्थापन समिति तथा शिक्षकहरुसँग बसेर पालिकामा नै छलफल भएको गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले बताए । बाहिर जस्तो हल्ला आएपनि त्यति ठूलो अनियमितता भए जस्तो आफूलाई नलागेको तर केहि न केहि अनियमितता भने भएको हुनसक्ने अध्यक्ष कार्कीको भनाई छ ।

विद्यालयको सामान खरिद समितिमा कांग्रेस, एमाले तथा माओवादीका जिल्ला स्तरका नेताहरु नै सहभागी भएकोले अनियमितताको घटनालाई ढाकछोप गर्न प्रयास भैरहेको स्थानीयले बताएका छन् । सामान खरिद अनियमितताको बारेमा लिखु ६ का वडा अध्यक्ष टिका क्याप्छाकी मगरले भने सामान्य बजारमा खरिद गर्दा पर्ने मूल्य भन्दा अलिक महंगोमा सामान आएको पाईएको बताए । केहि सामान निकै महंगोमा खरिद भएको पाईएपनि थप अध्ययन भैरहेको अनियमितता भए नभएको बारेमा तत्काल आफूले पनि केहि भन्न नसक्ने मगरले बताए । यदि अनियमितता भएको पाईएमा दोसीलाई सम्बन्धित निकायले कार्बाही गर्नुपर्नेमा अध्यक्ष मगरले जोड दिए ।