नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

कोशी प्रदेशका खेलकुद सदस्य सचिव वाग्ले बर्खास्त

ओखलढुङ्गान्युज, बैशाख केहिदिन अगाडी सामाजिक विकास मन्त्रालयको स्पष्टिकरणमा परेका कोशी प्रदेशका  खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गरेको छ । बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले सदस्यसचिव वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजना गरिएको प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम नलेखेको भन्दै उनलाई प्रदेश सरकारको तर्फवाट दुई पटक स्पष्टीकरण सोधेको थियो । दुई पटक बुझाएको स्पष्टिकरणले पनि प्रदेश सरकारको चित्त नबुझेपछि  झापाको दमकमा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम नलेख्नु उनको बर्खास्तीको कारण बनेको छ ।

चित्त बुझ्दो जवाफ नदिएको भन्दै बुधबार बसेको मन्त्रिपरिषद बैठकले सदस्यसचिव वाग्लेलाई बर्खास्त गरेको हो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरेका कारण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई जिम्मेवारीबाट हटाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

झापामा आयोजना गरेको भलिवल लगत्तै जेठ १ गतेदेखी ओखलढुङ्गामा पनि मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजनाको तयारी थालिएको थियो । सामाजिक विकास मन्त्रालयले वाग्लेलाई स्पष्टिकरण सोधेर प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गरेपछि ओखलढुङ्गामा हुने भनिएको मुख्यमन्त्री कप फुटवल प्रतियोगीता अनिश्चित बन्दै रोकिएको छ । सदस्यसचिब वाग्ले बर्खास्त भइएसँगै ओखलढुङ्गामा हुने भनिएको प्रतियोगिता थप अन्यौलमा परेको छ ।

फुटबल प्रतियोगिता सञ्चालनका लागि सिद्धिचरण नगरपालिकाले एन्फासँगको समन्वयमा फुटबल मैदानको विस्तारको काम गरेको छ । लामो समय पछि ओखलढुङ्गामा प्रदेश स्तरिय प्रतियोगिता हुन लागेको भन्दै जिल्लाबासीले पनि खेल सञ्चालनका लागि सबै प्रकारका तयारी थालेका थिए ।