नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खेल मैदान निर्माण कार्य अन्तिम चरणमा, मुख्यमन्त्री कप फुटबल अनिश्चित

ओखलढुङ्गान्युज, बैशाख २८ ओखलढुङ्गाको जिल्ला सदरमुकाममा रहेको खेलमैदानको निर्माण कार्यको पहिलो चरण सकिन लागेको छ । खेल मैदानको पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेपनि उक्त मैदानमा हुने भनिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालन भने अनिश्चित बनेको छ ।

कोशी प्रदेश सरकारको खेलकुद मन्त्रालय मार्फत नै ओखलढुङ्गामा प्रदेश स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्ण भएपछि जिल्ला सदरमुकाममा रहेको खेल मैदानको स्तरोन्नती तिब्र गतिमा भएको थियो । खेल मैदानको स्तरोन्नतीको बजेटका बारेमा प्रश्न उठ्दा उठ्दै पनि नगरपालिकाले तिब्रगतिमा काम सञ्चालन गरिरहेको छ ।

खेल मैदानको स्तरोन्नतीका लागि कुनै पनि निकायबाट निश्चित बजेट तोकिएको छैन । नगरपालिकाले आफ्नै डोजर, ट्रिफर, भाडामा रोलर प्रयोग गरेर काम गरिहेको छ । मैदानको साईड तर्फ जाली लगाएर वाल लगाउने कार्य पनि भैरहेको छ । वाल लगाउने बजेट अहिलेपनि अनिश्चित छ । खेलमैदान सम्याउनका लागि नगरपालिकाले पनि छुट्टै बजेटको व्यबस्था गरेको छैन ।

ग्राउण्ड सम्याउनका लागि नगरपालिका आफैले तेल हालेर आफ्नै डोजर र ट्रिफर प्रयोग गरिरहेको सिद्धिचरण नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष उमंग श्रेष्ठले बताए । लामो समयपछि ओखलढुङ्गामा प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको आयोजना हुन लागेकोले नगरपालिकाको बजेट नभएपनि आगामी आर्थिक वर्षको बजेट मार्फत खर्च गर्ने योजना सहित मैदान निर्माण कार्य भैरहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । जिल्लामा मुख्यमन्त्री कप फुटवल हुन लागेकोले त्यसलाई सफलता पूर्वक सम्पन्न गराउनका लागि समयमा नै खेल मैदानको निर्माण कार्य सकाउन लागि परिरहेको वडा अध्यक्ष श्रेठले बताए ।

एन्फाको प्राबिधिक टोलीको सिफारिस अनुसार खेल मैदानको लम्बाई तथा चौडाईको विस्तार गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविण श्रेष्ठले बताए । खेल मैदानमा धुलो माटो भएकाले खेलाडीहरुलाई सहज होस भनेर अहिले पनि नगरपालिकाको दमकल प्रयोग गरि पानी हाल्दै खेलमैदानलाई सम्याउने कार्य भैरहेको पनि श्रेष्ठले बताए । जिल्लामा लामो समयपछि माथिल्लो स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेकोले त्यसलाई सफलता पूर्वक सम्पन्न गराउन सबै ओखलढुङ्गाबासी लागि रहेको र मैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

मुख्यमन्त्री कप फुटबल अनिश्चित

ओखलढुङ्गामा नै जेठ १ गतेदखी सञ्चालन हुने भनिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता भने अनिश्चित बनेको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी र प्रदेश खेलकुद विकास समिति सदस्य सचिब हंशराज वाग्ले बिचको ब्यक्तिगत टकराबका कारण ओखलढुङ्गामा हुन तयारी अबस्थामा रहेको फुटवल अनिश्चित बनेको हो ।

गत बैशाख दोश्रो हप्ता झापामा सञ्चालन भएको कोशी प्रदेश मुख्यमन्त्री कप भलिवल प्रतियोगितामा प्रयोग गरिएको ब्यानरमा कोशी प्रदेश नलेखिएको भन्दै सामाजिक विकास मन्त्रालयले खेलकुद सदस्य सचिब वाग्लेलाई स्पष्टिकरण सोधेको थियो । मन्त्रालयले स्पष्टिकरण सोधेसँगै प्रदेश खेलकुदको सम्पूर्ण बैंक खाता समेत रोक्का गरेको छ । बैंक खाता नै रोक्का र खेलकुद सदस्य सचिवलाई स्पष्टिकरण सोधेपछि ओखलढुङ्गामा हुने खेल अनिश्चित बनेको हो ।