नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

कोशी प्रदेश नामांकनको विरोधी एक आन्दोलनकारीको मृत्यु

ओखलढुङ्गान्युज । १० चैत, विराटनगर । कोशी प्रदेश नामांकनको विरुद्धमा आन्दोलन गर्दै आएका एक आन्दोलनकारीको विहिबार उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–२ का पदम लिम्बू लागेहाङ रहेका छन् ।

कोशी प्रदेश नामांकन खारेजीको मागसहित गत चैत ५ गते विराटनगरमा भएको बिशाल प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट उनी घाइते थिए । सशस्त्र प्रहरीको लाठी प्रहारबाट टाउकोमा चोट लागेका उनी मंगलवार राति अचानक बेहोस भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

एक्कासि बान्ता गरेर बेहोस भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा लिम्बुको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर हुन् । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको एक प्रमुख घटक हो ।

विराटनगरको प्रदर्शनमा आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको मृतकका आफन्तले बताएका छन् ।