नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सुनको गहना सफा गरिदिन्छौ भन्दै ठगी गर्ने २ जना भारतीय सहित तीन पक्राउ

ओखलढुङ्गान्युज चैत, ओखलढुङ्गा गाउँगाउँ पसेर सुनको गहना सफा गरिदिन्छौ भन्दै ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दुई जना भारतका र एकजना नेपालका पुरुष रहेका छन् ।

पक्राउ परेकाहरुमा मोरङ जिल्ला विराटनगर महानगरपालिका ११ बस्ने बर्ष ४४ को राजेश शाह रहेका छन् । त्यस्तै उनका साथि भारतको अतरिया जिल्ला फरविसगंज बस्ने बर्ष ४४ कै सुनिल मण्डल तथा सोहि ठाँउको ढोलबजिया बस्ने बर्ष ४३ को पारस कुमार दास रहेका छन् ।

उनीहरुले गाउँगाउँमा गएर सुनका गहना लगाएका महिलाहरुलाई ललाई फकाईसुन पुरानो, फोहोर भएछ । सस्तोमा सफा गरिदिन्छौं भनेर लिदै गहना लिएपछि विभिन्न रासायनिक पद्धार्थको प्रयोग गरि सुनको बास्तविक परिणाममा कम गरि पैसा पनि लिएर ठगी गर्ने गरेका थिए ।

पक्राउ परेकाहरुबाट बरामत भएको सामाग्रीहरु

यसैक्रममा जिल्लाको मोलुङ गाउँपालिकाको कुन्तादेवी र बरुणेश्वरमा पनि उनीहरुले ठगी गरेको स्थानीयले पत्तो पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा प्रहरीले दुईजना कुन्तादेवी र एकजनालाई सिद्धिचरण नगरपालिकाको वडा नं. ९ ज्यामिरेवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

उनीहरु कति जननाको संख्यामा गाउँ पसेका थिए भन्ने नखुले पनि पक्राउ परेकाहरुले आफ्ना अरु साथिहरु पनि भएको बताएका छन् । मोलुङमा ठगी गर्ने मध्येको एकजना पक्राउ परेपनि अर्का एकजना भने अझै फरार रहेका छन् । उनीहरुको साथवाट सुन बनाउन तथा सफा गर्न प्रयोग गरिने हतियार सहित विभिन्न केमिकलहरु बरामत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।  पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरीले हिरासतमा राखेको छ । उनीहरुबाट अरुपनि ठगीएका हुनसक्ने र कोहि ठगीएको भए प्रहरीमा आई उजुरी गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

ठगीमा परेको जानकारी पाउनसाथ मोलुङका नागरिकहरुको सहयोगमा केही पुरुष पक्राउ परेपछि बुधबार नै मोलुङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कमल बानियाले एक सूचना जारि गर्दै सजगता अपनाउन अनुरोध गरेका थिए । विभिन्न बहानामा गाउँगाउँमा पसेका त्यस्ता नचिनेका ब्यक्तिहरुवाट ठगिएको भन्ने सूचना आएकोले आफै शतर्कता अपनाउन र विश्वास गरेर महंगा गरगहना नदिन समेत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।