नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मोलुङको उद्योग ग्राम सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने

ओखलढुङ्गान्युज चैत, प्राप्चा मोलुङ गाउँपालिकामा रहेको उद्योग ग्राम सञ्चालनका लागि गाउँपालिका अध्यक्ष उत्तम राईले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने बताउनुभएको छ । मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौरको चेप्टेमा निर्माण हुदै गरेको उद्योगग्रामको अनुगमन पश्चात अध्यक्ष राईले यस्तो बताउनुभएको हो ।

निर्माण सम्पन्न भएपछि तत्कालका लागि उक्त भवन मार्फत मछिनो प्रशोधनको काम सञ्चालन गरिने पालिका अध्यक्ष राइृले बताउनुभयो । मछिनो प्रशोधनका लागि धेरै ताप उर्जाशक्ति लाग्ने भएकोले स्थानीयहरुले अहिले जंगलमा रहेका उत्तिस तथा गुँरासका रुखहरु काटेर प्रयोग गर्नुपर्ने अबस्था छ । २–३ सय वर्ष लागेर बढेका रुखहरुलाई काटेर मछिनो प्रसोधनमा सकाउने हो भने अबको केहि वर्षमा नै जंगल सकिने भएकोले त्यसको विकल्पका बारेमा समेत अध्ययन भैरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

उद्योग ग्राममा मछिनो प्रशोधन बाहेक अन्य के–के उद्योगहरु सञ्चालन गर्न सकिन्छ भनेर यहाँको सम्भावनालाई समेत मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरिने पालिका अध्यक्ष राईको भनाई छ । उद्योगग्राममा उद्योग सञ्चालन गर्दै उद्योग ग्रामका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ उत्पादन र बनजंगलको संरक्षणका लागि आगामी दिनमा गाउँपालिकाले योजना बनाएर कार्यान्वयन गर्ने पनि अध्यक्ष राईले बताउनुभयो ।

श्रीचौरमा निर्माणाधिन अबस्थामा रहेको उद्योग ग्रामका भवनहरु निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका छन् । निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेका भवनहरुको गाउँपालिकाका ईञ्जिनियरहरु सहित गाउँपालिकाका अध्यक्ष उत्तम राई, उपाध्यक्ष उर्मिला खतिवडा, प्रमुख प्रशासकिय अधिकृत सरोज थापा लगायतको टीमले अनुगमन गरेको गाउँपालिकाका सूचना अधिकारी सन्तोष गौतमले जानकारी दिए ।

उद्योग ग्रामसञ्चालनका लागि श्रीचौरमा दुईदुई कोठाका तिनओटा भवनहरु निर्माण भैरहेका छन् । तत्कालिन प्रतिनिधी सभा सदस्य माननिय यज्ञराज सुनुवारको पहलमा उद्योग मन्त्रालयको ९० लाख बजेटमा भवन निर्माण कार्य भएको हो ।