नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मानेभञ्ज्याङ्गमा स्थानीय पाठ्यक्रम निर्माणको लागि ५ लाख बजेट विनियोजन

ओखलढुङ्गान्युज चैत, ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखी स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय ‘किरात वाम्बुले राई भाषा’ को पाठ्यक्रम निर्माणको लागि गाउँपालिकाले सभाको बैठक मार्फत बजेट विनियोजन गरेको छ ।

मानेभञ्ज्याङ्ग गाउँपालिकामा रहेका राईहरु मध्ये पनि वाम्बुले राईहरुको बाहुल्य बस्ती रहेको छ । वाम्बुले जातिको बाहुल्य रहेको गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक तयारीका लागि १२ औं गाउँसभाले पाँच लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले जानकारी दिए । शैक्षिक सत्र २०८० मा सम्भव नभएपनि शैक्षिक सत्र २०८१ देखी गाउँपालिकाका सबै विद्यालयहरुमा लागू गर्ने पाठ्यक्रम निर्माण प्रकृया अघि बढिसकेको पनि गाउँपालिका अध्यक्ष रुम्दालीले जानकारी दिए ।

देशमा संघियता लागूभएपछि नेपालको संविधान मै आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकार समावेश गरिएको छ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी हकको उपधारा ५ मा ‘नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने’ भनेर उल्लेख गरिएको छ ।

सरकारले पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार आधारभूत तहको कक्षा १ देखि ८ सम्म एउटा विषय स्थानीय पाठ्यक्रमको पठनपाठन गराउनुपर्ने व्यवस्था पनि गरेको छ । यो व्यवस्था कार्यान्वयनका लागि स्थानीय तहले स्थानीय जनसमुदायको आवश्यकता अनुसार पाठ्यक्रममा तथा पाठ्यसामाग्री विकास गरी कार्यान्वयनमा ल्याउनुपर्छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले ‘स्थानीय पाठ्यक्रममा विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ (मातृभाषासहित)’ विकास गरी स्थानीय तहको सहजीकरणका लागि सार्वजनिक गरेको छ।

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोल लगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । यसबाट विद्यार्थीहरूले धेरै ज्ञान सिक्ने अवसर पाउने अपेक्षा छ । पछिल्लो समय स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउन थालेका छन् ।