मन्थलीमा अलपत्र परेका पर्यटक हेलिकप्टर मार्फत खुम्बु पुगे

फायल तस्विर
ओखलढुङ्गान्युज । ८ चैत, सोलुखुम्बु । वशन्त ऋतुमा सगरमाथा आरोहरण तथा घुम्न आएर रामेछापको मन्थलीमा अलपत्र परेका पर्यटकहरु बल्ल सोलुखुम्बु पुगेका छन् । विगत केहिदिन देखी परेको पानी सँगै सोलुखुम्बुमा मौसम खराब भएपछि पर्यटकहरु मन्थलीमा अलपत्र परेका थिए ।
मौसम खराब भएका कारण रामेछापको मन्थलीवाट सोलुखुम्बुका लागि जहाज उडान भर्न नसकेको रामेछाप नागरिक उड्यन कार्यालय मन्थलीले जनाएको छ । जहाजले उडान भर्न नसकेपछि सोलुखुम्बुका लागि हिडेका पर्यटकहरु हेलिकप्टर चार्टर गरेर सोलुखुम्बु गएको नागरिक उड्यन कार्यालय रामेछापले जनाएको छ ।
वशन्त ऋतुमा सगरमाथा क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरी निजी क्षेत्रका केही वायु सेवा कम्पनीले केही दिनदेखि रामेछाप जिल्लाको मन्थली विमानस्थलबाट लुक्ला सम्म उडान भर्न थालेका थिए । गएको सिजनमा रामेछापको मन्थली विमानस्थलमा निजी क्षेत्रको ६ वटासम्म जहाज रात्रिकालीन पार्किङ राखेर लुक्लातर्फ उडान गर्ने गरेका थिए । वशन्त ऋतु सुरु भएर पर्यटकहरुको आवागमन बढ्ने समयमा जहाजले उडान भर्न नसक्दा पर्यटहरुले हेलिकप्टर चार्टर गरेर गन्तव्य सम्मको यात्रा तय गरेका हुन् ।
सिजनामा सगरमाथातर्फ जाने पर्यटकको माग बमोजिम काठमाडौंबाट मात्र उडान गर्दा सेवा दिन नसक्ने भएपछि खाली रहेको मन्थली विमानस्थलबाट उडान गर्न उडान कम्पनी आउने गरेका छन् । रामेछापको मन्थली विमानस्थलबाट उडानका लागि पर्यटकहरुलाई काठमाडौंबाट १ सय ३० किलोमिटर सडक मार्गबाट यात्रुहरु ओसारेर रामेछाप ल्याउने गरिएको र त्यहाँबाट उडान मार्फत लुक्ला लैजाने र ल्याउने गरिएको छ ।