नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पुल बन्न ढिलाई भएको भन्दै युवा संघ ओखलढुङ्गाको पूर्वाधार कार्यालयलाई ज्ञापनपत्र पेश

ओखलढुङ्गान्युज चैत ओखलढुङ्गा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल ओखलढुङ्गाले आज जिल्लाको पूर्वाधार विकास कार्यालयलाई ज्ञापनपत्र पेश गरेको छ । बजेट विनियोजन भैसकेर पनि योजनाको काम सुरु नभएको भन्दै आज युवा संघले कार्यालयमा पूर्वाधार विकास कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा ओखलढुङ्गा रामपुर सडकखण्डमा पर्ने पहिरे खोलामा निर्माण हुने मोटरेवल पुल निर्माणमा भएको ढिलाई र बेवास्ता प्रति आपत्ती जनाउदै ठेक्का प्रक्रियामा रहेको उक्त पुलको निर्माण कार्य यथासिघ्र काम सूचारु गराउन समेत माग गरेको छ । पूल निर्माणको लागि ठेक्का प्रक्रिया नै माथि सरकारमा भएको फेरबदलसँगै काममा ढिलाई भएको तथा पहिलेको सरकारले ल्याएको योजना हाल कार्यान्वयन गर्न भैरहेको ढिलासुस्ती प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको बताईएको छ ।

युवासंघका जिल्ला अध्यक्ष विनोद खत्रीले हस्ताक्षर गरेर बुझाईएको ज्ञापनपत्रमा भनिएको छ, ‘राजनीतिक परिघटना र सरकार फेरबदलका कारण पुल निर्माणको काम गतिमा सूचारु भैरहेको छैन । विगतका सरकारले ल्याएको योजना बर्तमान सरकारले कार्यान्वयन गर्न भैरहेको ढिलासुस्ती प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । काम चाहिँ नगर्ने तर राजनीतिक दाउपेचका लागि सेल्फी खिचेर फेशबुकमा हुने प्रचारबाजीलाई युवासंघले नजिकवाट नियाली रहेको छ । यस्तो प्रचारबाजी विकासको बाधक भएको र विकासका नाममा भ्रमपूर्ण प्रचारबाजी नगरी काम यथासिघ्र सुचारु गर्न र त्यसको प्रभावकारी अनुगमन गर्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछौं ।’

युवा संघ नेपालले जिल्ला पूर्वाधार विकास कार्यालयसँगै ज्ञापनपत्रलाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा, शहरी विकास मन्त्रालय विराटनगर, कोशी प्रदेश तथा मोलुङ गाउँपालिकाको कार्यालयमा बोधार्थ दिईएको छ ।

ओखलढुङ्गा रामपुर सडकखण्डमा पर्ने उक्त पहिरे खोलाले प्रत्येक वर्ष हिउद तथा वर्षातको समयमा ओखलढुङ्गामा आवत जावत गर्ने जिल्लाका पश्चिमी भूगोलका नागरिकहरुलाई दुःख दिदै आएको छ । लामो प्रयासपछि आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारले उक्त स्थानमा डिपीआरका लागि बजेट विनियोजन गरेको थियो । डिपीआर सम्पन्न पश्चात पूल निर्माणका लागि ठेक्का खुल्ने प्रकृयामा रहेपनि हालसम्म ठेक्का प्रकृया अघि बढ्न सकेको छैन ।