नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

यूएईलाई ९ रनले हराएर नेपाल विश्व कप क्रिकेटको क्वालिफायरमा

ओखलढुङ्गान्युज । २ चैत, काठमाण्डौं । नेपालले विश्वकप क्रिकेट लिग टू मा यूएईलाई हराएको छ । यूएईलाई हराएसँगै नेपाल विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।

विहिबार त्रिवि क्रिकेट मैदानमा यूएईले नेपालका लागि ३ सय ११ रनको लक्ष्य दिएको दिएको थियो । विजयको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएको थियो । पानी परेर खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा ९ रनले नेपाल विजयी भएको हो ।

आजको जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको छ । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना रहेको छ ।

आजको जितसँगै  लिग टू मा नेपालको ४० अङ्क भएको छ । यो जितसँगै नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको छ । नेपालको जितले नामिबियाले भने सिधै क्वालिफायर खेल्ने पाउने छैन । आजको खेलमा नेपालमा ४ जना खेलाडी कुशल भुर्तेलले ५०, भीम सार्कीले ६७, आरिफ शेख ५२ र गुल्सन झाले ५० रन बनाउदै अर्धसतकको रेकर्ड बनाए ।

नेपालले लिग टू को पछिल्लो शृङ्खलामा निकै सनसनीपूर्ण नतिजा निकालेको छ । पछिल्लो १२ खेलमा नेपाल ११ वटा खेलमा विजयी भएको छ । जम्मा एउटा खेलमा पराजित भएको छ ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आशिफ खानले १ सय १ रन बनाए । खानले ४० बलमै शतक पूरा गरेका थिए ।