नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

रासायनिक मल युरिया र डिएपीको मूल्य बढ्यो

ओखलढुङ्गान्युज २९ फागुन, काठमाण्डौं किसानहरुले मकैमा रासायनिक मल प्रयोग गर्ने सिजन नजिकिदै गर्दा यूरिया र डिएपी मलको मूल्य बढेको छ । सरकारले रासायनिक मलमा कृषकहरुलाई दिंदै आएको अनुदान कटौती गरेसँगै रासायनिक मलको मूल्य बढेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार फागुन २६ अघिको तुलनामा अब प्रतिकिलो युरिया मल ११ रुपैयाँ, डीएपी ७ रुपैयाँ र पोटास ९ रुपैयाँले महँगो भएको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो भएको मन्त्रालयले जनाएको छ ।

रासायनिक मलमा बढेको मूल्यअनुसार अब युरिया मलको किसानले प्रतिकिलो २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ तिर्नुपर्ने छ । सरकारले रासायनिक मलमा अनुदान दिईरहदा यसअघि प्रतिकिलो युरिया १४ रुपैयाँमा, डीएपी ४३ रुपैयाँमा र पोटास ३१ रुपैयाँमा किन्न पाइन्थ्यो ।

किसान अनुदान मलमा फागुन २६ अघिसम्म समग्रमा ७० प्रतिशत रहेकामा त्यसलाई कटौती गरेर ५९ दशमलब ४ प्रतिशतमा झारिएको मन्त्रालयले जनाएको छ । ११ दशमलब ७८ प्रतिशतले अनुदान कटौती गर्दा किसानलाई मलको खरिद लागत बढेको मन्त्रालयले जनाएको छ । सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले मल माथिको परनिर्भरता बढ्दै गएको भन्दै सरकारी लागत कम गर्न अनुदान घटाउन दिएको निर्देशनका आधारमा मलको मूल्य बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । बढेको मूल्यमा मलको बिक्री र बजार अनुगमनका लागि मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह समेत गरेको छ ।