नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

नमुना स्कुल श्री मावि अझै नमूना बन्नुपर्छ : सामाजिक विकास मन्त्री मोक्तान

ओखलढुङ्गान्युज । २९ फागुन, राकाथुम । जिल्ला कै नमुनाको रुपमा विकास हुदै गरेको श्री मावि राकाथुमले देश कै नमूना बनेर शिक्षा प्रदान गर्नुपर्ने बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । शनिवार एशियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण सम्पन्न भएको नयाँ विद्यालय भवन हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री मोक्तानले यस्तो बताएकी हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मोक्तानले विकास निर्माण, परिवर्तन र शैक्षिक सुधार गर्न नागरिक तवरबाट नै चासो र खबरदारी गर्नुपर्ने बताइन । नागरिकहरु निरन्तर चासो र खबरदारी गरे शैक्षिक सुधार र गुणस्तर कायम गर्न टाढाको कुरा नभएको बताइन । शैक्षिक सुधारका लागि शिक्षकहरुले पनि आत्मैदेखि लागिपर्नु पर्ने बताइन् ।

भुकम्प पश्चातको पुननिर्माण कार्यक्रम अन्तर्गत एडीबीको सहयोगमा श्रीमाविमा १८ कोठे नयाँ भवन निर्माण सम्पन्न भएको हो । हस्तान्तरण गरिएको नयाँ भवन बालमैत्री तथा सुविधा सम्पन्न भवन हो । सुविधा सम्पन्न भवनलाई शनिवार ठेकेदार कम्पनीले सामाजिक विकास मन्त्री मार्फत विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

भवन हस्तान्तरण कार्यक्रमसँगै मन्त्री मोक्तानले विद्यालयमा सञ्चालनमा आएको साबुन उत्पादन कारखानाको समेत उद्घाटन गरेकी छन् । प्रदेश सरकारको सहयोगमा विद्यालयका विद्यार्थीहरुलाई पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत साबुन उत्पादन कारखाना स्थापना गरिएको हो । साबुन उद्योग कारखानामा विद्यार्थीहरुले शिप सिक्दै पैसा कमाउने छन् । जसले आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई शिप तथा आर्थिक उपार्जनमा सहयोग पुग्नेछ ।

भवन हस्तान्तरण कार्यक्रममा सिन्धुली कलाघरका कलाकारहरुले पञ्चेबाजा मार्फत अतिथिहरुको स्वागत सँगै कला प्रदर्शन गरेका थिए ।