नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

तेस्रो पटक चीनको राष्ट्रपतिमा चुनिए सी जिनपिङ

ओखलढुङ्गान्युज । २६ फागुन । चीनका राष्ट्रपति सी जिनपिङ तेस्रो पटक पनि चीनको राष्ट्रपति बनेका छन् । नेशनल पिपुल्स कंग्रेसले मतदान मार्फत् शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए । संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए । मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको  १५ मिनेटमै अन्तिम नतिजा सार्वजनिक भएको थियो ।

आज विहान भएको मतदानमा  ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन् । गणतान्त्रिक चीनमा माओत्सेतुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन् । यसअघि चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न नपाइने व्यवस्था गरिएको थियो ।

सीले आफ्ना लागि उक्त संवैधानिक व्यवस्था नै हटाएका थिए । सी फेरि राष्ट्रपति बन्छन् भन्ने कुरा गत अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनबाट नै टुंगो भएको थियो । त्यतिबेला उनी तेस्रो कार्यकालका लागि महासचिव चुनिएका थिए ।