नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चम्पादेवी प्रथम अध्यक्षकप भलिवलको उपाधीसँगै चिशंखुगढीले जित्यो २ लाख

ओखलढुङ्गान्युज । २३ फागुन, विलन्दु । चम्पादेवी गाउँपालिकाको प्रथम अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधी चिशंखुगढी गाउँपालिकाले जितेको छ । उपाधी जित्दै चिशंखुगढी गाउँपालिकाले नगद रु २ लाख सहित शील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता अन्तर्गत शोमबार भएको फाईनल खेलमा चिशंखुगढीसँग सोझो ३–० को सेटमा स्तब्ध हुदै चम्पादेवी गाउँपालिका आयोजक ए ले दोश्रो स्थानमा चित्त बुझाएको छ । दोश्रो हुदै चम्पादेवी गाउँपालिका आयोजक ए ले नगद रु १ लाख ५० हजार सहित शील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाईनल खेलमा चिशंखुगढी गाउँपालिकाले चम्पादेवी ए लाई २५–२२, २५–१८ र २५–१७ को सेटमा पराजित गर्दै उपाधी जितेको हो ।

त्यस्तै रामेछापको गोकुलगंगा गाउँपालिकाले ओखलढुङ्गाको लिखु गाउँपालिका ए लाई ३–१ को सेटमा पराजित गर्दै तेश्रो बनेको छ । तेश्रो बनेको गोकुलगंगाले लिखु ए लाई २५–२१, २३–२५, २५–१८ र २५–२० को सेटमा पराजित गरेको हो । तेश्रो बनेको गोकुलगंगाले नगद रु १ लाखका साथमा शील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गोकुलगंगासँग पराजित भएर सान्त्वना स्थान प्राप्त गरेको लिखु ए ले नगद रु ४० हजारका साथमा मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यसैगरि प्रतियोगिताको विधा तर्फ चिशंखुगढीका हरि अधिकारी सर्बोत्कृष्ट खेलाडीको उपाधी जित्न सफल भएका छन् । त्यस्तै उत्कृष्ट सेटरमा चिशंखुगढीका हरिहजुर थापा, उत्कृष्ट लिब्रोमा चिशंखुगढीकै लोक बहादुर माझी बन्न सफल भएका छन् । उत्कृष्ट ब्लकरको उपाधी भने चम्पादेवी गाउँपालिका ए का समिप श्रेष्ठ र उत्कृष्ट स्पाईकर तर्फ गोकुलगंगा गाउँपालिका रामेछापका दुर्गा बहादुर खड्काले उपाधी चुम्न सफल भएका छन् । प्रतियोगिताको विधागत रुपमा उत्कृष्ट बनेकाहरुले पनि नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता बनेका टिम तथा खेलाडीहरुलाई कोशी प्रदेश सभा अन्तर्गत ओखलढुङ्गा निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदिप कुमार सुनुवार, चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज के.सी, सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का दिनेश, खिजिदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेद बहादुर रोका लगायतका अतिथिहरुले नगद, शील्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

चम्पादेवी गाउँपालिकाको वडा नं. ९ को डल्लीडाँडामा फागुन १९ देखी २२ गते सम्म सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका प्रादेशिक रेफ्रिहरु नारायणकाजी राई, सुधिर कार्की तथा अनुप राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।