नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

कटुञ्जेका जेष्ठ नागरिकलाई गाउँपालिकाको लौरो र हटब्याग

ओखलढुङ्गान्युज १६ माघ, कटुञ्जे सुनकोशी गाँउपालिकाले कटुञ्जेका जेष्ठ नागरिकहरुलाई हटव्याग र लौरो वितरण गरेको छ । सुनकोशी गाउँपालिका वडा नं. १० कटुञ्जेका जेष्ठ नागरिकहरुलाई गाउँपालिकाको तर्फवाट लौरो र हटब्याग वितरण गरेको हो ।

शोमबार एक औपचारीक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको सुनकोशी गाउँपालिका वडा नं. १० का वडा सचिव प्रकाश ढकालले जानकारी दिए । वडा सचिव ढकालका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को विनियोजित बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत वडाको समन्वयमा सामाग्री वितरण गरिएको हो । शोमबार सुनकोशी १० कटुञ्जेका १६० जना जेष्ठ नागरिकहरुलाई उक्त सामाग्री वितरण गरिएको हो ।

उमेर ढल्कदै जादा चिसोका कारण जेष्ठ नागरिकहरुको दैनिक जिवन यापनमा असहजता हुने गरेकोले थोरै भएपनि चिसो तथा चिसोका कारण हुने समस्यावाट बचाउन हट ब्याग उपलब्ध गराईएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताईन् । जुन घरमा बुबाआमाको सम्मान हुन्छ, त्यो घरमा देवताको बास हुन्छ । ति बाबुआमाका छोराछोरीहरुले भगवान खोज्न कुनै मन्दिर धाईरहनुपर्दैन । बाबुआमाको सेवा र सम्मान गर्नु छोराछोरीको कर्तब्य पनि हो । त्यहि कर्तव्य अनुसार गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान सहित सामाग्री उपलब्ध गराएको उपाध्यक्ष अधिकारीको भनाई थियो ।

उपाध्यक्ष अधिकारीका अनुसार जेष्ठ नागरिकहरुलाई हिडडुल गर्नका लागि समेत सहजता होस भन्ने उद्धेश्यले गाउँपालिकाले बार्षिक बजेट तथा कार्यक्रममा नै समाबेश गरेर लठ्ठि समेत प्रदान गरिएको हो ।

गाउँपालिकाले बार्षिक बजेट तथा कार्यक्रममा नै समाबेश गराएर यस अगाडी गाउँपालिकाका सबै विद्यालयका प्राथमिक कक्षामा अध्ययन गर्ने बालबालिकाहरुलाई टिफिन बक्स उपलब्ध गराएको छ । सुनकोशी १० मा झै गाउँपालिकाले पालिकाका सबै वडाहरुका जेष्ठ नागरिकहरुलाई वितरण गर्ने उपाध्यक्ष अधिकारीले बताईन् ।