नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गाको दावा टुरिजम रिसोर्टमा भिषण आगलागी, एक करोड बढीको क्षति 

ओखलढुङ्गान्युज । १० माघ, ओखलढुङ्गा । जिल्लाको खिजिदेम्वा गाउँ पालिका ८ देम्वाडाँडामा रहेको एक रिसोर्टमा आज आगलागी भएको छ । देम्वाडाँडामा रहेको दावा टुरिजम रिसोर्टमा भिषण आगलागी भएको हो ।

आज दिउँसो (मंगलबार) करीब २:२० बजेदेखि भएको आगलागीका कारण रिसोर्ट जलेेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रहरी निरीक्षक दासका अनुसार घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरीको टोली समेत घटनास्थल पुगेको थियो ।

प्रहरी र स्थानीयवासीहरुको सक्रियतामा आगो नियन्त्रणमा लिएपनि आगलागीका कारण रिसोर्ट जलेेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीका कारण काठ र जस्ताले बनाइएको दुई तले रिसोर्ट, त्यसमा रहेका खाद्यान्न, लत्ताकपडा जल्दा एक करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

आगलागी हुँदा भौतिक सामाग्रीमा क्षति पुगेको भएपनि पशुचौपाया र मानविय क्षति भने भएको छैन । आगलागी के कारणले भएको हो भनेर खुल्न सकेको छैन । घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।