नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गामा अन्तर मावि स्तरिय छात्रा भलिवल सुरु

ओखलढुङ्गान्युज माघ, ओखलढुङ्गा शुक्रबार देखि ओखलढुङ्गामा सिद्धिचरण नगरपालिकाको अन्तर माद्यमिक विद्यालय स्तरीय छात्रा भलिवल प्रतियोगिता सुरुवात भएको छ । जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माद्यमिक विद्यालय नजिकैको खेलकुद मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा सिद्धिचरण नगरपालिकाका १२ वडाका माद्यमिक विद्यालयका छात्राहरुलाई सहभागिता जनाउने लक्ष लिएको भएपनि प्रतियोगितामा ६ टिमले मात्रै सहभागिता जनाएका छन् । नगरपालिका क्षेत्र भित्रका माद्यमिक विद्यालयहरु मध्ये सगरमाथा जनता मावि सिनपा १२, विगुटार मावि विगुटार वडा नं. ७, चम्पादेवी मावि सल्लेरी वडा नं. ८, कुन्ता मावि ज्यामिरे वडा नं. ९, लालिगुँरास अंग्रेजी बोर्डिङ स्कुल सिनपा १२ र शुभलक्ष्मी अंग्रेजी बोर्डिङ स्कूल सिनपा ११ ले मात्र प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

प्रतियोगिता लिगकम नकआउट अन्तर्गत खेलाईएको छ । लिग चरणको पहिलो खेलमा सगरमाथा जनता मावि ओखलढुङ्गाले विगुटार मावि विगुटारलाई २५–९, २५–११ ले हराउदै विजयी भएको छ । त्यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा लालिगुँरास अंग्रेजी बोर्डिङ स्कुलले चम्पादेवी मावि सल्लेरीलाई २५–५, २५–११ को सेटमा हराउदै विजयी भएको छ । लिगसँगै अन्य बाँकी खेलहरु शनिवार विहान ९ बजे देखि खेलाईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ६ टिमले मात्र सहभागीता जनाएको भएपनि खेल आईतवार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता स्कूलहरुले क्रमशः प्रथम, द्वितिय, तृतिय हुनेले नगद रु ३० हजार, २० हजार, १० हजारका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद रु ५ हजार पाउने सिद्धिचरण नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष उमंग श्रेष्ठले बताए ।

प्रतियोगिता सिद्धिचरण नगरपालिका वडा नं. १२ को आयोजना तथा ओखलढुङ्गा युथ फाउण्डेसनको समन्वयमा सञ्चालन भएको हो । प्रतियोगिताका लागि वडा नं. १२ वडा कार्यालयको तर्फवाट नगद रु २ लाख बजेट विनियोजन गरिएको छ भने बाँकी खर्च युथ फाउण्डेसनले गर्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।