नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सिडिओ तामाङले दिए सिनपा १२ का १५ गरिब परिवारलाई न्यानो कपडा

ओखलढुङ्गान्युज माघ, ओखलढुङ्गा ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सिद्धिचरण नगरपालिका वडा नं. १२ का १५ गरिब परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी तामाङले मंगलबार सिद्धिचरण नगरपालिका वडा नं. १२ को भडारे भन्ने ठाँउमा नै पुगेर न्यानो कपडा वितरण गरेका हुन् ।

अहिले देशव्यापी बढी रहेको चिसोसँगै यसले ओखलढुङ्गामा पनि असर गरेको छ । बढी रहेको चिसोले विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति तथा बृद्धबृद्धालाई बढि असर गरिरहेको भन्दै अत्याधिक चिसोका कारण हुनसक्ने असहजतलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयको तर्फवाट न्यानो कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार सिद्धिचरण नगरपालिका वडा नं. १२ को समन्वयमा उनीहरुलाई घरमा नै पुगेर न्यानो कपडा वितरण गरिएको हो । आज वितरण गरिएको न्यानो कपडामा विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति तथा बृद्धबृद्धा रहेका १५ परिवारलाई प्रति परिवार २/२ थान कम्बल रहेको छ ।

बढि रहेको चिसोलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा गत पुष २७ गते जिल्ला विपद् व्यबस्थापन समिति बैठक बसेको थियो । बैठकले स्थानीय तह भित्रका अति विपन्न र सिमान्तकृत नागरिकका परिवारहरुमा चिसोका कारण हुनसक्ने असहजतालाई महशुस गर्दै न्यानो कपडा, कम्बल आदि उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।