नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि, ११ जनाको सनाखत

ओखलढुङ्गान्युज । १ माघ, काठमाडौँ । आइतबार विहान पोखरामा भएको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका मध्ये आइतबार बेलुकी ७ बजेसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त उक्त विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

दुर्घटना परि मृत्यु हुने ११ को सनाखत

विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल र पूर्णकुमार गुरुङ रहेका छन् ।यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका ६८ जनाको शव गण्डकी अस्पतालमा राखिएको छ । दुर्घटनाको कारण मृत्यु भएकाहरुको शोकमा यति एयरलाइन्सले माघ २ गते हुने आफ्नो सबै उडान स्थगित गरेको जनाएको छ । मृतकको शवलाई शोमबार परिवारको जिम्मा लगाइने जनाइएको छ ।