नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सातौं एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि पुलिसलाई

ओखलढुङ्गान्युज । १ माघ, काठमाण्डौं । नेपाल पुलिस क्लबले सातौं एनभिए क्लब च्याम्पियनसिपमा महिला तर्फको उपाधी जितेको छ । आज आईतबार भएको फाईनल खेलमा न्यू डायमण्ड क्लबलाई ३–२ सेटमा हराउँदै नेपाल पुलिस क्लबले सातौं एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको रोमान्चक र प्रतिस्पर्धात्मक फाइनलमा पुलिसले न्यु डायमण्डमाथि ३–२ को सेटमा जित निकालेको हो । महिला तर्फको खेलमा पुलिसले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको छ ।

फाईनल खेलको पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले दोस्रो सेटमा २५–१७ को जित निकालेको थियो । तर तेश्रो सेट पुलिसले २५–२७ ले गुमायो । तेस्रो सेटसम्म रक्षात्मक बनेको पुलिसले त्यसपछिका दुई भने सेटमा आक्रामक खेल प्रदर्शन गर्यो ।

खेलको चौथो सेटमा सुरुवाती समयमा पछि परे पनि २५–१९ को प्रभावशाली जितसहित पुलिसले खेललाई २–२ को बराबरीमा ल्यायो । निर्णायक सेटमा सुरुदेखि नै अग्रता बनाएको पुलिसले १५–११ को सेट जितसँगै उपाधि जित्न सफल भएको हो । न्यू डायमण्ड र पुलिसले समूह चरणमा पनि खेलेका थिए । समूह चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा पनि पुलिसले न्यु डायमण्डलाई ३–२ को सेटमा नै पराजित गरेको थियो ।

पुलिसले एनभीए क्लब च्याम्पियनसिप जितेको १० वर्षपछि पहिलोपटक हो । उपाधिसँगै उसले ४ लाख रुपैयाँ पुरस्कार पाएको छ । न्यु डायमण्डले २ लाख रुपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ पाएको छ । प्रतियोगितामा महिलातर्फ ८ टिम सहभागी थिए । ८ मध्ये शीर्ष ६ टिमले एनभीए क्लब लिगमा प्रवेश पाउनेछन् ।