नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गाका १४ जना उमेदवारको जमानत जफत

 

ओखलढुङ्गान्युज १३ मंसिर, ओखलढुङ्गा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ओखलढुङ्गाका १४ उम्मेदवारको जमानत जफत भएको छ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ मा ३ जना तथा निर्वाचन क्षेत्र नं. २ मा ५ जना उम्मेदवारको जमानत जफत भएको हो ।

ओखलढुङ्गावाट प्रतिनिधिसभा तर्फका आठजना उम्मेदवारहरुमध्ये जनता समाजवादी पार्टी, नेपालका जुद्ध बहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्की, मंगोल नेशनल अर्गनाइजेशनका विर्ज बहादुर थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिक बहादुर बास्तोला, नेपाल मजदुर किसान पार्टीका कुमार तामाङ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी ङिमा ल्हमु शेर्पाको जमानत जफल भएको जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद न्यौपानेले जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी न्यौपानेका अनुसार प्रतिनिधिसभा तर्फ कुल ६४ हजार ९ सय ९२ मत खसेकोमा कुल सदरमतको १० प्रतिशत कटाएर जमानत जोगाउनेहरुमा विजयी नेपाली कांग्रेसका रामहरि खतिवडा र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार रहेका छन् ।

त्यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का विजेता नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवार र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बिरबाबु गुरुङ बाहेक यस क्षेत्रमा अन्य ३ जनाको जमानत जफत भएको छ । पाँचजना उमेदवार रहेको यस क्षेत्रमा जनता समाजवादी पाटीर्, नेपालका खेमराज खड्का, मंगोल नेशनल अर्गनाईजेशनका लाक्पा शेर्पा र नेपाल मजदुर किसान पार्टीका नवराज खत्रीको जमानत जफत भएको छ ।

त्यसैगरि ७ जना उम्मेदवार रहेको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा मंगोल नेशनल अर्गनाईजेशनका बुद्धिमान राई, जनता समाजवादी पार्टी, नेपालका शान्त बहादुर बि.क, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्पराज पोखरेल, हाम्रो नेपाली पार्टीका हिरा बहादुर कटवाल र स्वतन्त्र उमेदवार टंकनाथ अधिकारीको जमानत जफत भएको छ । विजयी नेकपा माओवादी केन्द्रका बाबुराम गौतम र निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञान बहादुर खड्काको मात्र जमानत जोगिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा ३१ हजार ४ सय ६३, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा कुल ३३ हजार ५ सय २९ खसेको थियो भने प्रतिनिधी सभा सदस्य तर्फ ६४ हजार ९ सय ९२ मत खसेको थियो । उमेदवारहरुको जमानत जोगिन खसेको मतको कूल सदरमतको १० प्रतिशत मत आवश्यकता पर्दछ । 

जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका अनुसार प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत जफत भएको हो ।