नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कुन्तादेवीको दलित वस्ति : न भोट माग्न आए, न त सिकाउने नै !

ओखलढुङ्गान्युज । ३ मंसिर, ओखलढुङ्गा । मोलुङ गाउँपालिका वडा नं. १ मा पर्ने साउने अनि डडुवा । यहाँ दलित समुदायको अलिक बाक्लो नै वस्ति छ । मंशिर ४ आइसक्यो । तर यहाँ न त भोट माग्न कुनै पार्टीका नेता कार्यकर्ताहरु आए, न त भोट हाल्न सिकाउने नै ।

यहाँ ६० भन्दा बढी घरधुरी दलित समुदायको बस्ती छ । पहिला पहिला चुनाब छेको राजनितिक दलका नेता तथा कार्यकर्ता मेरो पार्टीलाइ भोट दिनुस । म/हामी यसो गरिदिन्छौ भनेर आश्वासन दिन्थे । यसपाली कोहि आएनन् । निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सन्चालन गरेको दावी गरेपनि यहाँ मत हाल्न सिकाउने पनि कोहि नआएको स्थानीय इन्दिरा विकले बताइन् ।

पहिला पहिला भोटमाग्न आउदा टोलको विकासको बारेमा आफुले कुरा राखेको र पुरा नगरेपछि अलिक ठुलो स्वर पनि गरेकोले पो यसपाली भोट माग्न नआएको हुन् कि जस्तो उनलाई लागेको छ । पहिला त नभेटे पनि फोनवाट समेत भोट माग्थे । तर यसपाली त फोनबाट समेत कसैले भोट नमागेको उनको भनाई छ ।

सोहि टोलका ७१ वर्षका महेन्द्र बहादुर विश्वकर्मा पनि भोट कसलाई र कसरी दिने भनेर अलमलमा छन् । आरानमा काम गर्दैगर्दा भेटिएका उनी चुनाव आइसक्दा पनि कसैले भोट माग्न नआएको पहिलो पटक भएको बताउछन् । आफुहरुले भोट हालेर जिताएको दलित महिला सदस्यले पनि केहि नभनेको र भोट हाल्न सिकाउने पनि कोहि नआएकोले यसपाली कसलाई कसरी भोट हाल्ने अलमलमा परेको उनको भनाई छ ।

यसपटकको मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न प्रत्येक स्थानीय सरकारले वडा तथा टोलटोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविका खटाएको थियो । तर उनीहरु सम्बन्धित बस्तिहरुमा नपुगेको स्थानीयले बताउदै आएका छन् ।