नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

ओखलढुङ्गाका सबै मतदान केन्द्रमा पुगे निर्वाचन सामाग्री

ओखलढुङ्गान्युज मंशिर, ओखलढुङ्गा प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन मिति आउन अब दुई दिन बाँकी छ । मतदान गर्ने दिन दुई दिन बाँकी हुँदा ओखलढुङ्गाका सबै मतदान केन्द्रहरुमा सुरक्षाकर्मीका साथ निर्वाचन सामाग्रीहरु पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मंशिर ४ गते हुने निर्वाचनका लागि ओखलढुङ्गामा एक अस्थायी मतदान केन्द्र सहित ८५ मतदान स्थलमा १ सय ५४ मतदान केन्द्र तोकिएका छन् । यस पटकको निर्वाचनमा जिल्ला कारागारमा रहेका कैदीवन्दिहरुले समेत समानुपातिक तर्फ मतदान गर्न पाउने छन् । जिल्लामा तोकिएका सबै मतदान केन्द्रहरुमा मंशिर १ गते विहिबार साँझसम्म मतदान सामाग्री सहितको टोली पुगेको जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद न्यौपानेले जानकारी दिए ।

निर्वाचनको समयमा पानी परेका कारण गत स्थानीय तहको निर्वाचनका लागि खटिएका निर्वाचन सामाग्री सहितको टोली पुग्न केहि समस्या भएको थियो । तर यसपटक भने कुनै बाधा अबरोध विना नै निर्वाचन सामाग्री सहितको टोली पुगेको न्यौपानेको भनाई छ । मतदान केन्द्रमा पुगेको टोलीले भोलि शुक्रबार देखि नै मतदान सम्बन्धिका कार्यहरुको थालनी गर्नेछ ।

यसपटकको निर्वाचनमा मतदाताको नयाँ परिचयपत्र नआएको भएपनि गत निर्वाचनमा वितरण गर्न बाँकी रहेका मतदाता परिचयपत्र समेत मतदान केन्द्रमा पठाईएको न्यौपानेको भनाई छ । पुराना वितरण हुन बाँकी रहेका मतदाता परिचयपत्रलाई पनि २ गते शुक्रबारवाट नै वितरण गरिने निर्वाचन अधिकारी न्यौपानेले बताए ।

ओखलढुङ्गाको यसपटकको निर्वाचनमा झण्डै २ हजार बढिको संख्यामा सुरक्षाकर्मी, १ हजार २ सय २८ कर्मचारी, ६ सय स्वयम्सेवक परिचालन हुदैछन् । जिल्लाका अतिसंवेदनशील  र संबेदनशील मतदान केन्द्रको सूचिमा परेका जिल्लाका ३२ मतदान स्थलहरुमा सशस्त्र प्रहरी र नेपाली सेनाको विषेश टिम समेत परिचालन गरिएको छ ।