नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

एकहप्ता देखि मोलुङको कुन्तादेवी अन्धकारमा

ओखलढुङ्गान्युज २८ कातिक, ओखलढुङ्गा लामो समयदेखि सञ्चालनमा रहेको मोलुङ खोला ४ लघुजलविद्युत आयोजनामा समस्या हुँदा मोलुङ गाँउपालिका वडा नं. १ कुन्तादेवीका नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका छन् । सञ्चालनमा रहेको विद्युतगृहमा गत एकहप्तादेखी समस्याहुदाँ कुन्तादेवी अन्धकारमय बनेको हो ।

उता विद्युत प्रसारणमा समस्या भएको तथा पटकपटक विग्रीएको एवम् विद्युत आयोजनाको समितिले विग्रिएको विद्युत लाईन मर्मतमा बेवास्ता गरेको भन्दै वडाको तर्फवाट विद्युत आयोजनामा हस्तक्षेप गरिएको वडाले सूचना निकालेको छ । सूचनामा वडाले हस्तक्षेप गरेर आगामी दिनमा उक्त विद्युत प्रसारण सञ्चालन वडाको तर्फवाट गरिने उल्लेख छ । त्यस्तै आगामी मंशीर २५ गते आम भेला बोलाउन आयोजना समितिलाई निर्देशन गरेको वडा अध्यक्ष कमल बहादुर वानियाले हस्ताक्षर गरेर जारी गरिएको सूचनामा उल्लेख छ ।

सञ्चालनमा रहेको जलविद्युत आयोजनामा कहिलेकाँही समस्या आउँदा राजनीतिक गन्ध आउने गरेकोमा यसपटक भने सतहमा देखिएको हो । एकहप्तादेखि समस्यामा आएको विद्युत गृह सञ्चालन नभएको बारेमा विद्युत आयोजनाका अध्यक्ष धनबहादुर बानियालाई सोध्दा राजनितिक स्वार्थका कारण वडाले हस्तक्षेप गरेको बताए ।

आयोजना अध्यक्ष वानियाले भने, “केहि दिन देखी विद्युतमा समस्या आएको थियो । समस्या समाधान गरेर विद्युत वाल्न खोज्दै थियौ । तर वडाले हस्तक्षेप गरेर आफैले बाल्छु भन्दै वडा अध्यक्षले विज्ञप्ती निकाले ।” आयोजनाका अध्यक्ष बानियाले थपे, “चुनावको मुख पनि आउदै छ । म कांग्रेसको नेता भए रे । त्यसैलेपनि विद्युतमा समस्या हुँदा यसपटक वडाले सहयोग गरेन ।”

सञ्चालनमा रहेको विद्युत आयोजनाको आम्दानी र खर्चको बारेमा सार्वजनिक गर्न सेवाग्राहीहरुले आमभेलाको माग गर्दा समेत अध्यक्षले भेला नबोलाएको स्थानीय उपभोक्ताहरुले आरोप लगाउदै आएका छन् । गाउँवाट नै मोलुङ खोला लघुजलविद्युत आयोजनाको ७ मेगावाटको मुख्य प्रसारण लाईन पनि गएको छ । तर पटकपटक वडाका सम्बन्धित पक्षहरुलाई अनुरोध गर्दा पनि व्यक्तिगत र राजनितिक स्वार्थका कारण वडामा केन्द्रिय विद्युत प्रसारण लाईन जोड्न पहल नभएको उपभोक्ताहरुको आरोप छ । 

केन्द्रिय विद्युत लाईन वडामा जडान गर्नका लागि पटक पटक वडा तथा विद्युत आयोजना समितिलाई वडाका नागरिक समाजको तर्फवाट आग्रह गर्दा बेवास्ता गर्दै आएका छन् । केन्द्रिय विद्युत प्रसारण लाईन नजोड्दा नागरिकलाई समस्या उत्तिकै छ । पटक पटक आयोजनामा रहेको विभिन्न उपकरण विग्रिरहदा, पानीको कुलो भत्कदा गाउँपालिका, वडा तथा उपभोक्ताहरुको लाखौ लगानी त्यसै खेर गैरहेको छ ।