नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

टी–२० विश्व कप २०२२ को उपाधि इङ्ग्ल्यान्डको पोल्टामा

ओखलढुङ्गान्युज । २७ कातिक, काठमाण्डौं । इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ को उपाधि जितेको छ । आज (आइतवार) मेलबर्नमा भएको फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउदै टी–२० विश्व कप २०२२ को उपाधि जितेको हो ।

आईसीसी टी–२० विश्वकपको फाइनल खेलमा पहिले व्याटिङ गरेको पाकिस्तानले इङ्ग्ल्यान्डलाई एक सय ३८ रनको लक्ष्य दिएको थियो । मेलबर्नमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो ।

पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि बेन स्टोक्सले नटआउट ५२ र जोस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।

खेलमा मात्र १२ रन दिएर तीन विकेट लिने इङ्ग्ल्यान्डका साम करन म्यान अफ द म्याच चुनिए । उनी म्यान अफ द टुर्नामेन्ट पनि चुनिए । यो उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई पुर्याएको छ । यसअघि सन् २०१० को टी–२० विश्व कप फाइनलमा पनि अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको थियो ।