नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

अज्ञात समूहद्वारा मध्यरातमा डोजरमा आगलागी

ओखलढुङ्गान्युज । १५ कातिक, ओखलढुङ्गा । ओखलढुङ्गामा अज्ञात समूहले कामको शिलशिलामा साइडमा रहेको डोजरमा आगलागी गरेका छन् । जिल्लाको चिशंखुगढी गाँउपालिकाको वडा नं. २ पोखरेको हिलेछाप भन्ने स्थानमा डोजरमा आगलागी गरेका हुन् । 

सृजनशील कन्ट्रक्सन कम्पनी प्रा.लि. को बा ३ क ४३०६ नम्बरको डोजरमा आगलागी भएको हो । आगलागीका कारण डोजर पूर्ण रुपमा नष्ट भएको कम्पनीका प्रोपाइटर रमेश श्रेष्ठले जानकारी दिए । शोमबार मध्यरातमा आगो लगाइएको कारण कसले र किन आगो लगायो भन्ने खुल्न सकेको छैन ।

डोजरले वडा कार्यालयको बजेटबाट चिशंखुगढी गाउँपालिकाको वडा नं. १ कुइभिरबाट वडा नं. २ पोखरे जोड्ने शाखा सडक मर्मत गर्दै थियो । सडक मर्मतको क्रममा हिलेछाप आइपुगेपछि रात परेका कारण डोजर अपरेटर डोजर त्यहि राखेर झण्डै आधाघण्टा माथि बास बस्न आएका थिए । 

डोजर अपरेटरहरु नभएको र राखिरहेको ठाउँमा आगलागी गरिएको हो । आगलागी गरिएको स्थान बस्ती भन्दा टाढा र बाङ्गेखोलाको खोल्सा भएको एकान्त स्थानमा भएकोले आगलागी भएको बेला कसैले थाहा नपाएको डोजर अपरेटर सुनिल बस्नेतले बताए । बास बसेको स्थानबाट काम गर्न आफु मंगलबार बिहान डोजर भएको ठाउँमा पुग्दा डोजरमा आगलागी पश्चात धुँवा आउदै गरेको भेटेको र आफुले नै खबर गरेको अपरेटर बस्नेतले बताए । 

घटनाको बारेमा जानकारी हुनासाथ खानिभन्ज्याङबाट प्रहरीको टोली पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक खनालका अनुसार प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।