नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

यो वर्षको शरद ऋतुमा ५ जनालाई सगरमाथा आरोहण गर्ने अनुमती

ओखलढुङ्गान्युज । कातिक, काठमाण्डौं । यस वर्षको शरद ऋतुमा ५ जना पर्वतारोहीले सगरमाथा आरोहण गर्न अनुमति लिएका छन् । बढी हिउँ पर्ने भएकाले शरद ऋतुमा सगरमाथा आरोहणका लागि उपयुक्त सिजन मानिँदैन । त्यसैले पनि सगरमाथा आरोहणका लागि एउटा समूहका ५ जनाले मात्र आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

शरद ऋतुमा देशभरका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १ हजार २ सय ३८ आरोहीलाई अनुमति दिएको पर्यटन विभागले जनाएको छ । तीमध्ये अधिकांश पर्वतारोहीले गोरखास्थित मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । कातिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४ सय ४ जनाले अनुमति लिइसकेका छन् ।

त्यसैगरि हिमाल आरोहणका लागि धेरै अनुमति पाउने दोस्रो हिमालमा आमादब्लम हिमाल रहेको छ । यस हिमालका लागि २६ टोलीका ३ सय ३६ जनाले अनुमति लिएको विभागले जनाएको छ । हिमलुङ हिमाल आरोहणका लागि १ सय ५६ जना पर्वतारोहीले अनुमति लिएका छन् ।

यस ऋतुका लागि अमेरिकाका १ सय १५ जना, फ्रान्सका १ सय ८ जना, बेलायतका १ सय ३ जना, जर्मनीका ७७ जना र स्पेनका ७५ जना आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।