नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

म्यादी प्रहरीका लागि ओखलढुङ्गामा ८ सय ९२ को आवेदन

फायल तस्विर

ओखलढुङ्गान्युज । ८ असोज, ओखलढुङ्गा । जिल्लामा म्यादी प्रहरीका लागि ८ सय ९२ जनाले आवेदन दिएका छन् । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ सय ४४ महिला र ६ सय ४८ जना पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

म्यादी प्रहरीको स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म ओखलढुङ्गामा सञ्चालन हुने प्रहरी नायव उपरीक्षक खनालले बताए । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरिसकेका र पुर्व सुरक्षाकर्मीले भने स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दिन नपर्ने प्रहरी प्रमुख खनालको भनाई छ ।

म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने छ । जिल्लामा कति संख्यामा म्यादी प्रहरीको भर्ना गर्ने भन्ने बारेमा केहि आई नसकेको भएपनि ७ सय भन्दा बढिको संख्यामा म्यादी प्रहरी छनौट गरिने प्रहरी नायव उपरीक्षक खनालको भनाई छ । परिक्षामा उत्तिर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आव्हान गरेको थियो ।