नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सिद्धिचरण नगरपालिकाका पूर्व र वर्तमान उपप्रमुखलाई जनही ४ लाख ५० हजार जरिवाना

ओखलढुङ्गान्युज असोज, ओखलढुङ्गा निर्वाचन आयोगले जिल्लाको सिद्धिचरण नगरपालिकाका पूर्व र बर्तमान उपप्रमुखहरुलाई जरिवाना गरेको छ । सिद्धिचरण नगरपालिकाका निर्वाचित निवर्तमान उपप्रमुख ईच्छा कुमारी गुरुङ र वर्तमान उपप्रमुख केदारबाबु बस्नेतलाई जनही ४ लाख ५० हजार जरिवाना गरेको हो ।

निर्वाचन आयोगको बैठक बसी गत भदौ ३१ गते सूचना सार्वजनिक गर्दै आयोगको निर्णय तथा सूचनालाई अवज्ञा गर्ने देशभरका झण्डैं १ लाख बढि उमेदवारहरुलाई जरिवाना गर्ने निर्णय भएको जानकारी गराएको थियो । आयोगको सूचनालाई अवज्ञा गरेपछि ओखलढुङ्गाका वर्तमान र निवर्तमान उपप्रमुख पनि जरिवानाको सूचिमा परेका हुन् ।

निर्वाचितहरुसँगै आयोगले नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उमेद्वारहरुलाई पनि जरिवाना गरेको छ । जरिवानामा पर्नेहरुमा २०७९ सालको स्थानीय तहको निर्वाचनमा सिद्धिचरण नगरपालिकाको प्रमुख पदका उमेद्वारहरु एमालेका ईच्छा कुमारी गुरुङ, नेकपा एकिकृत समाजवादीका तिलक बहादुर लोहनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका शेर बहादुर खत्री र स्वतन्त्र उमेद्वार सिताराम गुरुङ रहेका छन् ।

त्यस्तै उपप्रमुख पदको उमेदवार भएर खर्च गरेका तथा खर्च विवरण नबुझाउने एमालेका केदारबाबु बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सविना श्रेष्ठ (भुजेल) र राष्ट्रिय जनमोर्चाका शारदा खत्रीलाई पनि जनही ४ लाख ५० हजार जरिवाना गर्ने आयोगले निर्णय गरेको हो ।

आयोगले तोकेको जरिवाना नबुझाउने निर्वाचित पदाधिकारीको ६ महिना पछि स्वतः खारेज हुने समेत आयोगले सूचना मार्फत जानकारी गराएको छ । जरिवाना नबुझाउने निर्वाचित जनप्रतिनिधी तथा उमेद्वारहरुलाई भदौ ३१, २०७९ देखी लागू हुने गरि ६ वर्षसम्म कुनै पनि निर्वाचनको उमेद्वार वन्न नपाउने गरि निर्णय भएको समेत सूचनामा उल्लेख छ ।