नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

बैंकले भदौ २६ देखि नयाँ नोट बाड्ने

फायल तस्विर

ओखलढुङ्गान्युज । २२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैं तिहारको लागि भदौ २६ गतेबाट नयाँ नोट सटही सुविधा सञ्चालन गर्ने भएको छ । यो वर्षको दसैँ, तिहार र छठका लागि भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ । 

नयाँ नोटको सटही सुबिधा सर्वसाधारणले भने २९ गतेदेखि मात्र पाउने गरि आन्तरिक तयारी गरिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । 

सर्वसाधारणले सटही सुबिधा पाउने १८ हजार ५ सयमा ५ देखि १ सय रुपैयाँसम्मको एक/एक वटा बन्डल रहने छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने जनाएको छ ।

चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्था मार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि सर्वसाधारण बाट नयाँ नोटको माग धेरै आउने गरेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालले बताए ।