नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

भिमसेन स्थान माविका विद्यार्थीलाई ट्रयाकसुट सहयोग, शिक्षकलाई सम्मान

ओखलढुङ्गान्युज । १९ भदौ, नर्मदेश्वर । जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरमा रहेको भिमसेन स्थान माविका विद्यार्थीहरुलाई पूर्व विद्यार्थीहरुले ट्रयाकसुट सहयोग गरेका छन् । भिमसेन स्थान माविको एसएलसी दोश्रो व्याच २०६६ समूहले माविमा अध्ययनरत सबै विद्यार्थीहरुलाई ट्रयाकसुट सहयोग गरेका हुन् ।

भिमसेनस्थान मावि नर्मदेश्वरवाट २०६६ सालको एसएलसीमा सहभागी भएका २३ जनाले विद्यार्थीलाई सहयोग गरेको ०६६ व्याचका हिमाल श्रेष्ठले बताए । सोहि विद्यालयमा अध्ययन गरेर एसएलसी उत्तिर्ण भएपश्चात देशका विभिन्न स्थानमा कामको सिलसिलामा पेशामा संलग्न भएको र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाईमा थप प्रोत्साहन मिलोस भनेर साथिहरुको छलफल पश्चात सहयोग उपलब्ध गराए श्रेष्ठले बताए ।

कपडा कै कारण पनि कतिपय विद्यार्थीहरु निरन्तर विद्यालयमा उपस्थित भैरहेका छैनन् । सहयोग उपलब्ध भएपछि त्यस्ता विद्यार्थीहरु पनि प्रोत्साहनका कारण विद्यालय आउन सक्ने भन्दै ट्रयाकसुट उपलब्ध गराईएको सहयोगी समूहका सुवास श्रेष्ठले जानकारी दिए । व्याच ०६६ समूहले विद्यार्थीहरुलाई ट्रयाकसुट सहयोग हस्तान्तरण गर्दैगर्दा विद्यालयमा कार्यरत गुरुहरुलाई समेत सम्मान गरेका छन् । समूहले विद्यालयमा अध्ययनरत १६२ जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् ।