नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

परीक्षण गरिएको मध्ये ४० प्रतिशत बढिमा कोरोना संक्रमण, कहाँ कति संक्रमित ?

ओखलढुङ्गान्युज । ३ भदौ, ओखलढुङ्गा । कोरोना भाईरस संक्रमणको नयाँ लहर चल्दै गर्दा ओखलढुङ्गामा पनि संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ । जिल्लामा परीक्षण गरिएका मध्ये झण्डै ४० प्रतिशतमा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पुष्पराज पन्तका अनुसार पछिल्लो चरणमा जिल्लामा १ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्ये विहिबार सम्म ७ जनाले भने कोरोना भाईरसलाई जित्दै घर फर्किएका छन् ।

विहिबारसम्म सिद्धिचरण नगरपालिकामा ३० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै भाईरल ज्वरो र रुघाखोकीको विरामी भनिएका लिखु गाउँपालिकाका ४६ जना शिक्षक, विद्यार्थी र स्थानीय नागरिकमा एन्टिजेन परीक्षण गर्दा ४ जना शिक्षक सहित १९ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो । जसका कारण भदौ ४ गते सम्म लिखु गाउँपालिकाका सबै विद्यालय वन्द गरिएका छन् । त्यस्तै बुधबार सुनकोसी गाउँपालिकाका ४० जनामा एन्टिजेन परीक्षण गराउदा ११ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।

जिल्लाका अन्य स्थानीय तहहरुमा भने एन्टिजेन परीक्षण गरिएको छैन । ति स्थानीय तहहरुमा पनि भाईरल ज्वरो र रुघाखोकीका विरामीको संख्या बढेर स्थानीय स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । भाईरल ज्वरो र रुघाखोकी देखिएपनि कोरोना संक्रमण फैलिएको आशंकामा सतर्कता अपनाउन जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले सबैमा अनुरोध गरेको छ ।