नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

साँघुटारमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा आयो

ओखलढुङ्गान्युज । २३ साउन, साँघुटार । रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानामा रहेको साँघुटारमा निर्माण भएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । करीब ८ वर्षदेखी साँघुटार बजार नजिकै निर्माण थालिएको सबस्टेसन आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ ।

ओखलढुङ्गा जिल्लाका पश्चिमी भूगोलहरुमा यहि प्रसारण लाईन मार्फत केन्द्रिय विद्युत लाईनको वितरण गरिदै आएको छ । मन्थलीदेखि साँघुटार पुर्याइएको ३३ केभी प्रसारण लाइनलाई उक्त सबस्टेसनमा पुर्याएर चार्ज गरिएको वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले बताए । साँघुटारको यस सबस्टेसन मार्फत रामेछाप जिल्लाको पूर्वी उत्तर क्षेत्रका पालिकाका वडाहरुसम्मको विद्युतीकरण हुने व्यवस्था मिलाइएको वितरण केन्द्र प्रमुख दाहालले बताए । त्यसका अतिरिक्त ओखलढुङ्गा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने विभिन्न भागमा पनि उक्त सबस्टेसनकै फिडरमार्फत विद्युत् पठाइने वितरण केन्द्र प्रमुख दाहालको भनाइृ छ ।

यसअघि मन्थलीको सबस्टेसनबाट मात्र विद्युत वितरण हुदा विद्युत प्रवाहमा बेलाबेलामा समस्या हुदै आएको थियो अब साँघुटारमा निर्माण सम्पन्न भएको सबस्टेसनको सञ्चालन पछि विद्युत प्रसारण सेवामा सुधार हुने अपेक्षा गरिएको छ । साँघुटारको सबस्टेसनसम्म ३३ केभी सिधै पुग्ने भएकाले विद्युतको गुणस्तरसमेत बढ्ने प्राधिकरणले जनाएको छ । साघुँटारको सबस्टेशन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा बारम्बार विद्युत जाने समस्या पनि घटेर जाने केन्द्रले जनाएको छ ।