नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जलवायु परिवर्तन तथा जलाधार ब्यबस्थापनमा निरन्तर कलम चलाउने पत्रकारहरुको प्रतिबद्धता

ओखलढुङ्गान्युज । १८ साउन, हलेसी । ओखलढुङ्गा र खोटाङ जिल्लाका पत्रकारहरुले जलवायु परिवर्तन, बहुप्रकोप तथा जलाधार व्यबस्थापनका विषयमा निरन्तर कलम चलाउने प्रतिबद्धता जनाएका छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना –डिसिआरएल) ले दुई जिल्लाका पत्रकारहरुका लागि आयोजना गरेको दुई दिने जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक तालिममा सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

खोटाङ र ओखलढुङ्गा जिल्लाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा (ओखलढुङ्गाका २० र खोटाङ जिल्लाका ३१ वडाहरुमा) परियोजना सञ्चालनमा रहेको छ । परियोजनाले ति कार्यक्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्दै बहुप्रकोप नियन्त्रण तथा जलाधार व्यबस्थापनका कार्यमा काम गर्दै आएको छ ।

तालिममा सहभागी दुई जिल्लाका २९ जना पत्रकारहरुलाई जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना बारे जानकारी दिनुका साथै साउन १६ र १७ गते सञ्चालन भएको तालिममा विकास पत्रकारिता, पत्रकारितामा जलवायु परिवर्तन र जलाधारको विषयवस्तु, फिचर लेखन लगायतका बारेमा जानकारी समेत गराईएको थियो ।

दूधकोशीले छोएको खोटाङको ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकालाई समेटेर जलाधारमा आधारिक जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सञ्चालन भइरहेको छ ।

आगामी १ मे २०२४ सम्म सञ्चालन हुने कार्यक्रमको विभिन्न चरणका क्रियाकलाप १ डिसेम्बर २०२० देखि सुरुवात भएको हो । परियोजना नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र बिश्व वातावरण कोषको संयुक्त सहकार्यमा सञ्चालनमा रहेको छ । वन तथा भू–संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनको जिम्मा पाएको कार्यक्रमबाट तल्लो दुधकोसी जलाधार क्षेत्रका १ लाख २१ हजार ६०३ संकटापन्न स्थानीय लाभान्वित हुने आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले जनाएको छ ।