नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

खोटाङ भूकम्प अपडेट ः तिन दिन भित्र क्षति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन

ओखलढुङ्गान्युज १७ साउन, खोटाङ जिल्ला प्रशासन कार्यालय खोटाङले आईतवार गएको भूकम्पका कारण भएको क्षतिको विवरण तिनदिन भित्र पठाउन सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । आईतवार गएको भूकम्पको कारण जिल्लामा ५ सय बढी घरहरुमा क्षति भएको अनुमान गरिएको छ ।

शोमबार पछिल्लो तथ्यांक अनुसार खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको भुकम्पले जिल्लाभर तीन विद्यालय भवन, एक प्रहरी चौकीसहित ४७६ घर चर्किएको छ । एक घर पूर्णरुपमा भत्किएको छ ।

भुकम्पको इपिसेन्टर रहेको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा ८० घर, साकेला गाउँपालिका–१ बाझेच्यानडाँडामा १३४ घर, साकेला गाउँपालिका–४ मात्तिममा १०५ घर, साकेला गाउँपालिका–२ रतन्छामा ८८ घर र साकेला गाउँपालिका–३ खिदिमामा ५८ चर्किएको छ ।

त्यस्तै साकेला गाउँपालिका–३ खिदिमाको नवज्योति प्राविको चार कोठे, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चार कोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको सुर्केडाँडा निमाविको चार कोठे भवन चर्किएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवन चर्किएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांईले जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ । भुकम्पको सम्पूर्ण क्षतिको विवरण तीन दिनभित्र पठाउन सबै स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सेडांईले बताए ।

आईतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको साकेला गाउँपालिकाको मात्तिमविर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले खोटाङ आसपासको क्षेत्रमा समेत सामान्य क्षति भएको थियो ।

 

पत्रकार दमन राईको सहयोगमा ।