नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा श्रीमानको कुटाईवाट गम्भिर घाईते भएका श्रीमतीको मृत्यु

ओखलढुङ्गान्युज १२ साउन, ओखलढुङ्गा श्रीमानको कुटाईवाट गम्भिर घाईते बनेकी एक महिलाको ओखलढुङ्गामा मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ४ का ४० बर्षीय प्रेमनुरी शेर्पाको कुटाईबाट उनका श्रीमती लाक्पा पुटी शेर्पाको आईतवार मृत्यु भएको हो ।

गत असार ७ गते बेलुका समान्य घरायसी बिबादका क्रममा प्रेम नुरीले श्रीमतीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । शेर्पाले कुटपिटपछि घटना लुकाउन खेतबाट फर्कने क्रममा भिरबाट लडेर श्रीमती सख्त घाइते भएको भन्दै श्रावण ८ गते मात्रै ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारका लागी ल्याएका थिए ।

उपचारका क्रममा श्रीमतीको साउन ९ गते बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शेर्पाको मृत्युपछि घटनालाई संकास्पद मानेर प्रहरीले अनुसन्धान गर्ने क्रममा मृतकका श्रीमान शेर्पालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सोधपुछ गर्नेक्रममा श्रीमानले श्रीमतीलाई कुटपिट गरेको कारण घटना भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । कुटपिटबाट मृत्यु हुने महिला शेर्पाका कान्छि श्रीमती हुन् ।

बयानका क्रममा पक्राउ परेका शेर्पाले घरायसी विवादका क्रममा आफुले आवेगमा आएर श्रीमतीलाई कुटपिट गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटना बाहिर आउने डरका कारण कुटपिटका कारण गम्भिर घाईते भएकी श्रीमतीलाई शेर्पाले घरमा नै राखेका थिए । श्रीमतीको अवस्था सुधार नभएर झनै गम्भिर भएपछि मात्र शेर्पा आफैले श्रीमतीलाई उपचारका लागि अस्पताल ल्याएका थिए । तर अस्पताल ल्याएको भोलिपल्ट नै मृत्यु भएको हो ।

पक्राउ परेका शेर्पालाई कर्तव्य ज्यान कसुर अन्तरगतको मुद्धामा कानुनी कारबाहीको प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।