नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

अनुशासन सम्बन्धी कारबाही गर्न बनेको खोटाङ कांग्रेसको समिति पुनर्गठन 

ओखलढुङ्गान्युज । ११ साउन, खोटाङ । कांग्रेस नेताबीच दुई वटा अनुशासन समितिमार्फत एक अर्का बिरुद्ध कारबाही सिफारिस गर्ने श्रृंखला सुरु भएपछि अनुशासन समिति पुःनर्गठन गरिएको छ । कांग्रेस भित्रको गुटगत हिसाबले अनुशासन समिति मार्फत सिलसिलेवार रुपमा कार्वाहीको लागि एकले अर्कालाई सिफारिस गर्न थालेपछि खोटाङमा कांग्रेसले अनुशासन समिति नै पुनर्गठन गरेको हो । 

कांग्रेस जिल्ला कार्य समितिको नवौं बैठकले जिल्ला सचिव ज्ञानेन्द्र जोशी र पुर्वसभापति नरेश श्रेष्ठ संयोजकत्वको छुट्टा–छुट्टै अनुशासन समितिको सट्टा नरेश श्रेष्ठकै संयोकत्वमा तीन सदस्यीय अनुशासन समिति पुःनर्गठन गरेको हो । नव गठित अनुशासन समितिको सदस्यमा बीरकाजी राई र सिजन राई रहेको कांग्रेस सचिव समिर राईले बताए । गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई लिएर कांग्रेसका नेताबीचमा आफु अनुकूलका अनुशासन समितिमार्फत एकले अर्कालाई कारबाही गर्ने श्रृंखला सुरु भएपछि अनुशासन समिति पुःनर्गठन गरिएको खोटाङ कांग्रेसले जनाएको छ । 

स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन भूमीका खेलेको आरोप सहितको उजुरीका आधारमा अनुशासन समितिका संयोजक रहेका सचिव जोशीले २६ असारमा प्रदेश १ का महामन्त्री भूपेन्द्र राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी सहित २४ जनालाई कारबाही गर्न सिफारिस गरेपछि पुःन २८ असारमा पाँच गाउँपालिका सभापति र एक पालिका उपसभापतिले जवाफमा सभापति बिष्णुकुमार राई र सचिव जोशीलाई नै कारबाहीका लागि श्रेष्ठ संयोजकत्वको अनुशासन समिति समक्ष सिफारिस गरेका थिए । 

प्रदेश महामन्त्री राई लगायतमाथि कारबाहीको डण्डा चलाइएपछि कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति गिरी, खोटेहाङ गाउँपालिका सभापति प्रेमकुमार थापा, बराहपोखरी गाउँपालिका सभापति खिलाराज राई, जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्ट, केपिलासगढी गाउँपालिका सभापति होमबहादुर राई र ऐसेलुखर्क गाउँपालिका उपसभापति धनकाजी राई (सुरेन्द्र्र)ले उल्टै आफ्नै पार्टीलाई हराउन गतिविधि गरेको दावी सहित जिल्ला सभापति राई र सचिव जोशीलाई कारबाहीका लागि अनुशासन समिति समक्ष सिफारिस गरेका थिए ।