नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गा रालोदो प्रतिष्ठानले पाण्डव सुनुवारको सालिक बनाउने

ओखलढुङ्गान्युज ११ असार, काठमाण्डौं राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल ओखलढुङ्गा शाखाले ओखलढुङ्गाका लोकप्रिय सञ्चारकर्मी तथा लोकगायक श्रष्टा पाण्डव सुनुवारको सालिक निर्माण गर्ने भएको छ । श्रष्टा सुनुवारको सम्मानका खातिर निर्माण गरिने सालिकका लागि सहयोग जुटाउने उद्धेश्यका साथ शनिवार काठमाण्डौंमा पाण्डव साहित्यिक भेट कार्यक्रमको आयोजना समेत गरिएको छ ।

काठमाण्डौंको नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आयोजित सांगितीक भेट कार्यक्रमको संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले शनिवार उद्घाटन गरेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, ओखलढुङ्गा शाखाका अध्यक्ष सपना सुनामले जानकारी दिईन् । अध्यक्ष सुनामका अनुसार लोकगायक स्वर्गीय सुनुवारको जन्मथलो ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा २ रगनीमा उनको अर्धकदको सालिक निर्माण गरिनेछ । सालिक निर्माणका लागि स्वर्गीय सुनुवारका परिवारले सहकार्य गर्नेछन् ।

श्रष्टाहरुले आफ्नो सृजना प्रस्तुत गरेसम्म मात्र हाईहाई हुने र मृत्यु पश्चात विर्सने भएकोले मरेपछि पनि श्रष्टाको सम्मान गर्न भुल्नु हुदैन भनेर भावि पिढिलाई सम्झना दिलाउने उद्देश्यका साथ सुनुवारको सालिक बनाउन लागिएको हो । सुनुवारको स्मृति दिवस असोज २२ मा सालिकको उद्घाटन गर्ने तयारीको साथ कामको थालनी गरिएको प्रतिष्ठानका अध्यक्ष सुनामले जानकारी दिईन् । 

गलाका धनी श्रष्टा सुनुवारको सम्झनामा सिद्धिचरण नगरपालिकाले पनि यस अघि नै जिल्लाको श्रष्टा पार्कमा अर्धकदको सालिकको स्थापना गरिसकेको छ । स्वर्गीय सुनुवारका झमझम स्टकोट, बाईरोडको बाटोमा लगायतका दर्जनौं गितहरु अहिले पनि चर्चामा रहेका छन् । लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठको संयोजकत्वमा सालिक निर्माण थालनी कार्यको सुरुवात गरिएको हो ।