नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

हलेसी तुवाचुङ नगरपालिकामा अंग्रेजी माध्यमबाट पठनपाठनको तयारी 

ओखलढुङ्गान्युज । २२ जेठ, खोटाङ । खोटाङको एक नगरपालिकाले पालिका भित्रका सबै माविमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी गरेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले पालिका भित्रका सबै माविमा अंग्रेजी माध्यमबाट पठनपाठनको तयारी गरेको हो । 

केहिदिन अगाडी नगरपालिका प्रमुख बिमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरपालिकाको माबि तहका १२ वटै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने निर्णय गरेको हो । अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका बिद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने तयारी गरेको हो । 

स्वयं जनप्रतिनिधि, कर्मचारी, शिक्षक र वैदेसिक रोजगारमा संलग्न परिवारको बालबच्चा निजी विद्यालयमा छन । त्यसैले सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षणका लागि सुरुमा माबि तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको नगर प्रमुख मेयर राइले बताइन् । 

बैठकले विद्यार्थी संख्या न्युन भएका विद्यालयको समायोजन वा घटुवा गर्ने तथा बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यसको लागि अध्ययन गरी प्रतिबेदन पेश गर्न सामाजिक विकास समितिका संयोजक एवं शिक्षा समिति सदस्य रुद्रकुमार राईको अध्यक्षतामा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।